साढे ३ वर्षपछि ओलीको बहिर्गमन



आफ्नो सरकार सफल भएको दाबी

काठमाडौं,असार ३०। साढे ३ वर्ष सत्ताको बागडोर सम्हालेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सर्वोच्च अदालतको फैसलासँगै प्रधानमन्त्रीबाट बिदा हुनुभएको छ ।

दुई तिहाइ बहुमतका साथ सत्तामा पुगेका ओलीले दोस्रोपटक गरेको संसद् विघटन बदर र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न सोमवार सर्वोच्च अदालतले परमादेश दिएसँगै मंगलवार देशवासीको नाममा सम्बोधन गर्दै उहाँ बिदा हुनु भएको हो ।

आफ्नो सरकार जनताको हितमा काम गर्न सफल भएको र जनताको जनादेशले नभई सर्वोच्चको परमादेशका कारण आफूले बिदा लिनु परेकोमा उहाँको दुःखेसो थियो । ‘यो नै अन्तिम बिदाइ पनि होइन । जनादेशले नभई अदालतको परमादेशका कारणले सरकारको जिम्मेवारीबाट बिदा लिँदै छु’ उहाँले भन्नुभयोे, ‘जनादेश मेरो पक्षमा थियो, अदालतको परमादेश देउवाजीको पक्षमा गयो ।’

सरकारको उपलब्धिबारेमा समेत चर्चा गर्दै ओली पुनर्निर्माणदेखि कोरोना रोकथामसम्ममा सरकार सफल भएको दाबी गर्नुभयो । कोरोनाभाइरस विरुद्धको २ करोड डोजभन्दा बढी खोप खरीद प्रक्रियाको टुंगो लागेको समेत उहाँको दाबी थियो । ओलीका अनुसार अमेरिकी कम्पनी जोनसन एन्ड जोनसनसँग ५० लाख डोज, मोडर्ना र फाइजरसँग ४०÷४० लाख डोज तथा कोभिशिल्ड र अस्ट्राजेनेकाबाट २० लाख गरी १ करोड ५० लाख डोज खोप सहुलियत मूल्यमा खरीदको टुंगो लागिसकेको छ ।

चीनसँग पनि थप ६० लाख खोप खरीदको टुंगो लागेको प्रधानमन्त्री ओलीले बताउनुभयो । यी खोप कति मूल्यमा खरीदको टुंगो लागेको हो र कहिले आपूर्ति हुनेछ भन्ने उहाँले खुलाउनुभएन ।

सम्बोधनका क्रममा ओलीले सर्वोच्चको फैसलालाई लिएर असन्तुष्टि जनाउनुभयो तर पनि संविधानको सर्वोच्चता र विधिको शासनमा विश्वास गर्ने भएकाले फैसला पालना गर्ने उहाँको भनाइ छ । ओलीका अनुसार सर्वाेच्चको फैसलाले राज्यका मुख्य तीन अंगबीचको सन्तुलन खलबल्याएको छ भने त्यसको समीक्षा भविष्यमा हुनेछ । फैसलाका कतिपय प्रावधान र त्यहाँ प्रयोग भएका भाषा–शैलीले लोकतन्त्रप्रति विश्वास राख्ने सबैलाई चिन्तित तुल्याएको ओलीको भनाइ थियो । ओलीले संसद्को पूर्ण कार्यकाललाई लिएर शंकासमेत व्यक्त गर्नुभयो । अन्तिम सम्बोधन गर्दै ओलीले समयमा निर्वाचन, संसद् र सरकार सही ढंगमा अगाडि बढ्नेमा शंका व्यक्त गर्नुभयो । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्