निजी क्षेत्रद्वारा न्यूनतम पारिश्रमिक कार्यान्वयन तथा उद्योग व्यवसाय सञ्चालन सहज बनाउन माग



काठमाडौं,असार ३० ।निजी क्षेत्रले  न्यूनतम पारिश्रमिकको कार्यान्वयन एवं उद्योग व्यवसाय सञ्चालनको लागि सहज वातावरण बनाउन माग गरेको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स र उद्योग परिसंघले मंगलवार संयुक्त अपिल जारी गर्दै सरकारले हाल निर्धारण गरेको न्यूनतम पारिश्रमिक, पारिश्रमिक वृद्धि नभई न्यूनतम पारिश्रमिकको दरको वृद्धि मात्र भएको बताएका छन् ।

यसरी न्यूनतम पारिश्रमिकमा भएको वृद्धि सबै तहका श्रमिक कामदारको पारिश्रमिकमा वृद्धि नभएको भन्दै संयुक्त अपिलमा न्यूनतम पारिश्रमिकभन्दा माथिको पारिश्रमिक प्रतिष्ठानले आफ्नो आर्थिक अवस्था अनुसार तय गर्ने हुँदा न्यूनतम पारिश्रमिकमा भएको वृद्धि रकम सबैले पाउनु पर्छ भन्ने होइन भनिएको छ ।

अपिलमा नेपाल सरकारबाट चिया बगान बाहेकका प्रतिष्ठानमा काम गर्ने श्रमिकहरूको लागि हाल कायम रहेको न्यूनतम पारिश्रमिक १३ हजार ४५० मा पुनरावलोकन गरी २०७८ साउन  १ गतेदेखि लागू हुने गरी न्यूनतम तलव ९ हजार ३८५ र महंगी भत्ता ५ हजार ६१५ रुपैयाँसमेत गरी १५ हजार न्यूनतम पारिश्रमिक निर्धारण गरिएको सबैमा विदितै छ भनी उल्लेख छ ।

कोरोना महामारीबाट उत्पन्न विषम र असहज परिस्थितिका कारण सम्पूर्ण उद्योग व्यवसायले ठूलो नोक्सानी व्यहोर्नु परेको अहिलेको अवस्थामा उद्योग र रोजगारी दुबैको बचाउ गर्नु पहिलो आवश्यकता हो भन्दै अपिलमा संकटग्रस्त र थलिएका उद्योग व्यवसायको पुनरूत्थान र पूर्ववत अवस्थामा फर्काउन सम्पूर्ण श्रमिकहरूले समझदारीका साथ थप प्रयास गर्नुको विकल्प छैन भनिएको छ ।

साथै उनीहरुले औद्योगिक शान्ति कायम गरी विद्यमान कठिन परिस्थितिबाट चाँडो बाहिर निस्कन तथा निर्वाधरूपमा उद्योग व्यवसाय संचालन गर्ने वातावरण बनाई राख्ने काममा सहयोग पुर्‍याउन सम्पूर्ण श्रमिकहरू सहित सबैमा अपिलसमेत गरेका छन् । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्