नुवाकोटमा सर्वसाधारणलाई मात्र यातायात अभावको सास्ती
नुवाकोट, असार २९ । सार्वजनिक यातायात नचल्दा लकडाउनको समयमा जिल्लास्थित सर्वसाधारणले मात्रै सास्ती व्यहोर्नुपरेको छ।
पछिल्लो लकडाउनमा जिल्ला आवतजावतको सडकखण्ड छहरे-टोखा सडकखण्डमा भाडाका साना तथा दुई पाङ्ग्रे सवारीसाधन निर्वाध सञ्चालनमा रहेका छन्।
कतिपय भाडाका साना गाडी समेत सञ्चालनमा रहेको स्थानीयहरु बताउँछन्। प्रहरी पहुँच र चोरबाटो यात्रु हिंडाएर समेत साना गाडी सञ्चालनमा रहेको उनीहरु बताउँछन् ।
मंगलबार मध्याह्न छहरे-टोखा सडकखण्डमा यस्तै दृश्य देखियो। सडकखण्डको चापको बोट नजिकै शिवपुरी ८ महाभीरमा सयौं सवारीसाधन जाममा पर्यो। सडक निर्माणका क्रममा सो क्षेत्रमा भएको केहि समयको जामले लकडाउनको धज्जी उडाएको स्थानीय एक शिक्षक बताउँछन् ।
यद्यपि सर्वसाधारण चढ्ने भाडाका बस बाहेक सबै सवारीसाधन सञ्चालन गर्ने जिल्ला कोभिड ब्यवस्थापन समितिले निर्णय गर्दै थप साउन १ गतेसम्म लकडाउन गर्ने यसअघि प्रशासनले निर्णय गरेको थियोे ।