एमाले कार्यदलमा एकताको ‘सहमति’ भएको नेताहरुको दावी
काठमाडौँ,असार २६ । नेकपा एमाले एकताका लागि लगभग सहमति जुटेको नेताहरुले दाबी गरेका छन । कार्यदलको शुक्रबार दिनभर दुई पक्षबीच बसेको बैठकले सहमतिको दस्तावेज तयार पारेको जनाईएको छ । आजको वैठकपछि कार्यदलका सदस्य प्रदीप ज्ञवालीले लामो समयको छलफलपछि पार्टीमा एकता कायम गर्ने विषय लगभग टुङ्गोमा पुगेको दावी गरे।
उनले विवाद समाधानको सहमतिको विन्दुमा पुगेको र भाषिक शुद्धता मिलाउन बाँकी रहेकोले भोलि पुनः बस्ने बैठक र टुँगो लगाउने जनाए । माधव नेपाल पक्षका नेता गोकर्ण विष्टले पनि लगभग सहमतिमा पुगेको बताए । कार्यदलमा अध्यक्ष केपी शर्मा ओलीको तर्फबाट विष्णु पौडेल संयोजक छन् । सदस्यहरुमा सुवास नेम्वाङ, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन् । उता, वरिष्ठ नेता माधव नेपालको तर्फबाट संयोजकमा भीम रावल छन् । र, सदस्यहरुमा रघुजी पन्त, सुरेन्द्र पाण्डे, घनश्याम भुषाल र गोकर्ण विष्ट छन् ।
कार्यदलको बैठक जारी रहेको समयमा दुवै तर्फका एक एक नेताहरु ओली र नेपाललाई मस्यौदाको खाका देखाउन गएका थिए । ओलीको तर्फबाट शंकर पोखरेल गएका थिए भने नेपालको तर्फबाट पन्त गएका थिए ।