नुवाकोट दुप्चेश्वरको उदाहरणीय काम, बन्यो १० शय्याको बालमैत्री आइसोलेसन सेन्टर
नुवाकोट, असार २५ । जिल्लाको दुप्चेश्वर गाउँपालिकाले कोरोना महामारीबाट बालबालिकालाई सुरक्षित राख्न उदाहरणीय कामको सुरुवात गरेको छ। जस अन्तर्गत १० शय्याको सुबिधा सम्पन्न आइसोलेसन सेन्टर तयार गरेको छ ।
स्वास्थ्यसंग सम्बन्धित संघसंस्थाले कोरोना भाइरसको दोस्रो लहर नसकिदै तेस्रो लहर आउने संकेत दिएको र त्यसको प्रत्यक्ष असर बालबालिकामा पर्ने बताइरहेकाले दुप्चेश्वर गाउँपालिकाले भने एक कदम अगाडी नै तयारी थालेको हो ।
दुप्चेश्वर गाउँपालिकाको वडा नम्बर ६ स्थित समुन्द्रटार स्वास्थ्य चौकीमा ‘आधार विकास नेपाल’ नामक गैरसरकारी संस्थासँगको साझेदारीमा बालबालिका लक्षित आइसोलेसन सेन्टर स्थापना गरिएको उपाध्यक्ष अञ्जु आचार्यले जानकारी दिनुभयो ।
बालबालिका केन्द्रित यस्तो सेन्टर नुवाकोटको स्थानीय तहमा यो नै पहिलो भएको र केन्द्रमा खेलौनासँगै टेलिभिजन समेत जडान गरिएको आचार्यले जानकारी दिनुभयो ।
बालबालिका केन्द्रित सेन्टरमा पहिलो प्राथमिकता बालबालिका, बच्चाकी आमालाई दिइने र खाली हुँदा अरुलाई पनि राख्न सकिने गाउँपालिकाले जनाएको छ ।
दुप्चेश्वर गाउँपालिकामा कोरोनाविरुद्धको सुरक्षा अत्यावश्यकीय सामग्रीका रुपमा अक्सिजनको ४० वटा सिलिण्डर, ९ वटा अक्सिजन कन्सन्ट्रेटर, पर्याप्त मात्रामा अक्सोमिटरलगायत रहेको छ ।
दुप्चेश्वर गाउँपालिका ‘बालमैत्री स्थानीय सरकार’ निर्माणको क्रममा रहेकाले साझेदार संघसस्थाहरुलाई पनि यस्तै क्षेत्रमा लगानी गर्न आह्वान गरेको र सोही अनुसार योजना तर्जुमा गर्दै कार्यान्वयनमा लगिएको गाउँपालिका उपाध्यक्ष आचार्यले बताउनुभयो ।