पञ्चकन्याको प्रशासनिक भवन निर्माण तीस प्रतिशत सम्पन्न



गाउँपालिकाको निर्माणाधीन प्रशासनिक भवन

नुवाकोट,असार २४ । जिल्लाको पञ्चकन्या गाउँपालिकाको प्रशासनिक भवन निर्माणको तीस प्रतिशत काम सम्पन्न भएको छ। गाउँपालिकाको वडा नम्बर ३ स्थित लाकुरी भञ्ज्याङ् मा निर्माणाधीन भवनको तीस प्रतिशत काम सम्पन्न भएको सूर्यचन्द्र कन्स्ट्रक्सनका प्रबन्धक निर्देशक जनार्दन ढकालले बताए ।

कुल ६ करोड २ लाख रुपैयाँ रकममा निर्माणका लागि ठेक्का पाएको सूर्यचन्द्र कन्स्ट्रक्सनका अनुसार १ सभाहल,१ इजलास कक्षसहित २८ कोठाको भवन तयार हुनेछ। हाल भवनको दोस्रो तला ढलान सम्पन्न भैसकेको छ भने तेस्रो तल्ला ढलानको तयारी अगाडि बढाइएको भवनका इन्जिनियर उज्ज्वल न्यौपानेले बताए।

इन्जिनियर न्यौपानेका अनुसार ५२ सय ३९ स्क्वायर क्षेत्रफल ओगटेको भवन निर्माणका अलावा पार्किङ,बाहिरी सौचालय, गार्डेन, भवन वाल लगायत धेरै काम बाकी रहेको छ। यद्यपि निर्माणाधीन समय २०७९ जेठ २० गतेसम्म कायम गरिएको छ। हाल गाउँपालिकाको प्रशासनिक कामकाज भने पञ्चकन्या ३ घलेभञ्ज्याङको अस्थायी भवनबाट हुँदै आइरहेको छ।

प्रतिक्रिया दिनुहोस्