एमाले जोगाउन ओली नेपालबीच कुरा मिल्यो, सहमतिपत्रमा आज हस्ताक्षर हुँदै
काठमाडौ,असार २४ । एमाले जोगाउन दुई पक्षबीच कुरा मिलेको छ भने सहमतिपत्रमा आज हस्ताक्षर हुने भएको छ ।
बुधबार साँझ नक्सालको मेरियट होटलमा बसेको बैठकमा नेताहरु सहमतिमा पुगेको र त्यसलाई आज बिहान अन्तिम रुप दिने नेता सुरेन्द्र पाण्डेले जानकारी दिए ।
मेरियटमा सुरुमा कार्यदलका सदस्यहरुसहित अध्यक्ष केपी शर्मा ओली र माधव नेपालबीच कुराकानी भएको थियो। त्यसपछि ओली र नेपालबीच मात्रै कुराकानी भएको छ।
बैठकपछि नेता पाण्डेले भने, ‘पहिला हामी कार्यदलका सदस्यहरुसहित नेताहरु बस्नु भयो। त्यसपछि दुई जनाबीच वन टु वन कुराकानी भयो। कुरा सकारात्मक भएको छ। आज कार्यदलको बैठकपछि कुरा टुंगिन्छ।’
त्यस्तै अर्का भीम रावलले पनि वार्ता सकारात्मक भएको र बिहीबार फेरि बस्ने जानकारी दिए ।
साविकको नेकपा हुँदैदेखि नेपाल र ओली पक्षबीच चर्को मतभेद हुँदै आएको थियो। फागुन २३ गते सर्वोच्चको आदेशबाट एमाले र माओवादी ब्युतिएपछि दुई पक्षबीचको टकरावले फरक फरक दलको अभ्याससमेत हुँदै आएको छ।
नेपाल पक्षले सांसद र स्थानीय तहका पदाधिकारीको पद गुम्ने भएपछि नयाँ दल निर्माणको घोषणा गर्न सकेको थिएन।
ओलीले पनि एमालेलाई एकलौटी रुपमा निर्णय गर्दै आएका थिए। दुई पक्षबीच कुन कुन विषयमा सहमति भयो भन्ने कुरा सार्वजनिक भएको छैन ।