अर्थ मन्त्रालयमा कार्यसम्पादन सम्झौता
काठमाडौं,असार २४ । अर्थ मन्त्रालयमा कार्यसम्पादन सम्झौता सम्पन्न भएको छ । अर्थ मन्त्रालयसँग बुधवार सम्बन्धित निकायका प्रमुखहरूसँग कार्य सम्पादन सम्झौता हस्ताक्षर कार्यक्रममा उपप्रधान तथा अर्थमन्त्रीसँग अर्थसचिव, राजस्व सचिव र महालेखा नियन्त्रकले कार्य सम्पादन सम्झौता गरे भने सचिवसँग महाशाखा प्रमुख र विभागीय प्रमुखहरूले कार्यसम्पादन सम्झौता गरेका हुन् ।
सो क्रममा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट कार्यान्वयन परिणाममुखी ढंगले गरिनुपर्ने बताए । मन्त्री पौडेलले बजेट कार्यान्वयनका लागि मन्त्रीका हैसियतले गर्नुपर्ने सबै काम र सहयोग गर्ने बताउँदै परिणाममुखी तवरले कार्यान्वनमा जुट्न आग्रह गरे ।
बजेट प्रस्तुत हुन्छ, कार्यान्वयन हुँदैन भन्ने विगतका मानकमा परिवर्तन गरी बजेट प्रस्तुत हुन्छ र कार्यान्वयन पनि हुन्छ भन्ने मानक स्थापित हुनेगरी काममा लाग्न आफ्ना अधिकारीहरूलाई निर्देशन दिए ।
उपप्रधान तथा अर्थमन्त्री पौडेलले आगामी वर्षको बजेट कार्यान्वयनको अहिले तयारी भइरहेकाले साउनदेखि नै बजेट कार्यान्वयनले गति लिने विश्वास व्यक्त गरे । कुनै पनि प्रकारको कमजोरी हुन नदिने गरी जिम्मेवारी निर्वाह गर्न कर्मचारीहरूलाई उनको निर्देशन थियो ।
अर्थ सचिव शिशिरकुमार ढुंगानाले साउन १ गतेदेखि नै आगामी वर्षको बजेट कार्यान्वयनका लागि बलियो आधार तयार भएको बताए । उनका अनुसार सरकारी अधिकारीहरूले आ–आफ्नो जिम्मेवारी बोध गरेर काम गर्न जरुरी छ । कार्यसम्पादन सम्झौताले अनुगमन गर्न पनि सहज बनाएको समेत ढुंगानाको भनाइ छ ।
कार्यक्रममा राजस्व सचिव रामशरण पुडासैनीले कार्यसम्पादन सम्झौताले उत्तरदायी र जिम्मेवारी बढाएको बताए । त्यसले नतीजा बढाउन सहयोग पुगेको उनको भनाइ थियो । कार्यसम्पादन सम्झौता देखाउन र प्रचार गर्न नभएर प्रतिस्पर्धाको भावना बढाउन भएकाले सोही अनुसार प्रस्तुत हुन उनले सम्बन्धित अधिकारीहरूलाई आग्रह समेत गरे ।
महालेखा नियन्त्रक मधु मरासिनीले तल्लो तहसम्म कार्य सम्पादन सम्झौता गरी बजेटमार्फत घोषित कार्यक्रमहरू पूरा हुनुपर्ने बताए । अर्थ मन्त्रालयका प्रवक्ता महेश आचार्यले आगामी वर्षको बजेट कार्यान्वयनको तयारीका सन्दर्भमा विभिन्न मन्त्रालयहरूसँग छलफल गरिएको, आवश्यक निर्देशिकाहरू निर्माण भइरहेको जानकारी दिए । कार्यसम्पादन सम्झौताले उन्नत खालको परिणाम ल्याउन सहयोग पुग्ने उनको विश्वास छ । आर्थिक अभियानबाट