बाढीले नेपालकै दोस्रो लामो पुलमा क्षती
दाङ,असार २३ । अबिरल वर्षापछि राप्ती नदिमा आएको बाढीले नेपालकै दोस्रो लामो पुलमा क्षती पुर्याएको छ । राप्ती गाउँपालिकाको सिसहनियाँ र गढवा गाउँपालिकाको महदेवा जोड्ने पुल दक्षिण चुरेबाट बगेर आउने खहरे खोलाले कटान गर्दा क्षति पुगेको हो।
बाढीका करण किनारा जोगाउन गरिएको तट्बन्धलाई समेत भत्काउँदै सडक समेत भाँसिएको छ । बाढीले पुलको दक्षिणी भेगको पुर्ब छेउ पट्टी २५ मिटर लम्बाई र साढे ७ मिटर चौडा सडक भाँसिएको स्थानिय राधेस्याम चौधरीले बताए । ‘ बिहान ९/१० समयमा पुलको किनारा भत्किएको हो।’ चौधरीले भने,’ जसले गर्दा पुललाई नै असर पर्ने देखिएको छ ।’ अहिले एकतर्फी सडक सञ्चालनमा छ ।
दाङका प्रमुख जिल्ला अधिकारी राम बहादुर लिम्बू कुरुम्बाङले मर्मतका लागि पुल डिभिजन कार्यालय नेपालगन्जलाई आग्रह गरिएको जानकारी दिए। ८६० मिटर लम्बाइ र साढे १० मिटर चौडाइको यो पुल करिब एक अर्बको लागतमा निर्माण सम्पन्न भएको थियो । गत माघ १२ गते प्रधानमन्त्री केपी शर्मा ओलीले सो पुलको उद्घाटन गरेका थिए । उद्घाटन पश्चात् चित्त नबुझ्दो भएको ठहर गर्दै स्थानियले शिलालेख समेत तोडफोड भएको थियो । यसैबीच, लगातारको वर्षाले दाङका अन्य खोलामा पनि पानीको वहाव बढेको छ।