पञ्चकन्याको कुण्डला माध्यमिक विद्यालयले सीयुजी सिमबाट पढाउने, के हो सीयुजी?
नुवाकोट,असार २३ । जिल्लास्थित पञ्चकन्याको कुण्डला माध्यमिक विद्यालयले सीयुजी ( closed user group) सिमकार्डबाट पढाउने तयारी गरेको छ। कोरोना संक्रमणबाट विद्यालयमा लामो समयदेखि पठनपाठन क्रियाकलाप बन्द भएकाले यस पद्धति मार्फत अनलाइन फोन इन कक्षा सञ्चालन गर्न लागिएको विद्यालयका प्रधानाध्यापक शम्भु यादबले बताए। उनले साझापथसंग कुराकानी गर्दै भने- ‘हामीले पाठ्यपुस्तक सबै वितरण गरिसकेका छौं,अब गृहकार्य र विद्यार्थीको शैक्षिक गतिविधिबारे फोन मार्फत विद्यार्थी र अभिभावकसंग लगत राख्छौं।’
यसअघि सोमबार बसेको पञ्चकन्या गाउँपालिका स्तरीय प्रधानाध्यापकहरुको भेलाले समेत कोरोना संक्रमण समुदायस्तरमै फैलिरहेकाले तत्काल भौतिक कक्षा सञ्चालन गर्न नसकिने भन्दै सियुजी सिम मार्फत अनलाइन फोन इन कक्षा सञ्चालन गर्ने निर्णय गरेको थियोे। गाउँपालिकाले विद्यालयहरुलाई प्रति विद्यार्थी १३० रुपैयाँका दरले प्रत्येक विद्यार्थीलाई सियुजी सिमकार्डका लागि खर्चिनेछ। कक्षा ४ देखि १२ कक्षा सम्मका सेवा क्षेत्रका विद्यालयमा रही अध्ययनअध्यापन गर्ने सबै शिक्षक विद्यार्थीलाई उक्त सिमकार्ड वितरण गरिने पञ्चकन्या गाउँपालिका शिक्षा शाखा प्रमुख चक्रदेव जोशीले बताए ।
विद्यालयद्वारा जारी सूचना
के हो सीयुजी सिमकार्ड
नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको ‘ विद्यालय शिक्षा सम्बन्धी आकस्मिक कार्ययोजना २०७७ ’ मा प्रस्तुत कार्यविधि अनुसार सार्वजनिक विद्यालयका शिक्षक र विद्यार्थीबीच सिकाई सम्पर्क कायम गराउन सार्वजनिक विद्यालय, स्थानीय तह र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको विद्यार्थी र शिक्षकलाई मोबाइल सेवाको Closed User Group (CUG) मा आबद्ध गराउने योजना रहेको छ ।
सोही बमोजिम नेपाल टेलिकमले सम्पूर्ण सरकारी तथा सामुदायिक विद्यालयका विद्यार्थी, शिक्षक तथा विद्यार्थीका परिवारको कुनै एक सदस्यलाई आवश्यकता अनुसार ‘पाठशाला CUG सिम’ (प्रिपेड मोबाइल सिमकार्ड) निःशुल्क उपलब्ध गराउने र शैक्षिक संस्थाका विद्यार्थी, शिक्षक तथा विद्यार्थीका परिवारको कुनै एक सदस्यले हाल प्रयोग गरिरहनु भएका नेपाल टेलिकमका GSM तथा CDMA सेवाका प्रिपेड मोबाइल नम्बरहरु वा उहाँहरुलाई निःशुल्क प्रदान गरिएका प्रिपेड मोबाइल नम्बरहरुलाई Closed User Group (CUG)मा आबद्ध गर्न सकिने व्यवस्था रहेको छ ।
सीयुजी सिमकार्ड यसरी पाउन सकिन्छ :-
यस व्यवस्था अनुसार निःशुल्क रुपमा उपलब्ध गराइने प्रिपेड सिमकार्ड (पाठशाला CUG सिम)प्राप्त गर्न निम्न अनुसारको व्यवस्था गरिएको छ ।
१. सरकारी तथा सामुदायिक विद्यालयमा कार्यरत शिक्षक, अध्ययनरत विद्यार्थी र विद्यार्थीका परिवारको कुनै एक सदस्यले एउटा निःशुल्क सिमकार्ड प्राप्त गर्न सक्नेछन् । विद्यार्थीका लागि सिमकार्ड लिंदा विद्यार्थीको वा अभिभावकको नाममा लिन सकिनेछ ।
२. निःशुल्क सिमकार्ड प्राप्त गर्नका लागि शिक्षक, विद्यार्थी तथा अभिभावकले कम्पनीले निर्धारण गरेको प्रिपेड मोबाइलको आवेदन फाराम रितपूर्वक भरी आफू संलग्न सार्वजनिक विद्यालयमा बुझाउनु पर्नेछ । आवेदन फारामका साथमा निम्नअनुसार कागजपत्र समावेश गरेको हुनुपर्नेछ :-
(क) विद्यार्थीको लागिः
अ) विद्यार्थीको परिचयपत्रको प्रतिलिपी वा सम्वन्धित विद्यालयद्वारा विद्यार्थी प्रमाणित गरिएको कागजात।
आ) विद्यार्थीको नागरिकता प्रमाणपत्रको प्रतिलिपी वा विद्यार्थीको नागरिकता नभएमा अभिभावकको नागरिकता प्रमाणपत्रको प्रतिलिपी ।
इ) विद्यार्थीको एक प्रति फोटो (आवेदन फारामको निर्धारित स्थानमा टाँस्नुपर्ने) ।
(ख) शिक्षकको लागिः
अ) शिक्षकको परिचयपत्रको प्रतिलिपी वा सम्वन्धित विद्यालयद्वाराशिक्षक प्रमाणित गरिएको कागजात।
आ) नागरिकता प्रमाणपत्रको प्रतिलिपी।
इ) एक प्रति फोटो (आवेदन फारामको निर्धारित स्थानमा टाँस्नुपर्ने) ।
(ग) अभिभावकको लागि
अ) आफुसंग सम्बन्धित विद्यार्थीकोपरिचयपत्रको प्रतिलिपी वा सम्वन्धित विद्यालयद्वाराअभिभावक प्रमाणित गरिएको कागजात।
आ) नागरिकता प्रमाणपत्रको प्रतिलिपी।
इ) एक प्रति फोटो (आवेदन फारामको निर्धारित स्थानमा टाँस्नुपर्ने) ।
३. विद्यार्थीले अभिभावकको नाममा सिमकार्ड लिने भएमा रितपूर्वक आवेदन फाराम भरी अभिभावकको नागरिकताको प्रतिलिपी संलग्न गरी सम्बन्धित विद्यालयमा बुझाउनु पर्नेछ ।
४. बुँदा नं. २ र ३ बमोजिम विद्यालयमा आवेदन फाराम संकलन भएपश्चात विद्यालयले आवेदन फाराम र संलग्न कागजात रुजु गरी स्थानीय तहको सिफारिश पत्रसहित नजिकको दूरसञ्चार कार्यालयमा सम्पर्क गरी सबैजनाको सिमकार्ड एकमुष्ट प्राप्त गर्न सकिने छ ।