ओपेक प्लसको वार्ता असफल भएपछि तेलको भाउ २०१४ यताकै उच्च विन्दुमा
एजेन्सी,असार २३ । अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेर सन् २०१४ यताकै उच्च विन्दुमा उक्लिएको छ ।
पेट्रोलियम निर्यातकर्ता देशहरुको संगठन (ओपेक) र संगठन बाहिर रुसलगायत प्रमुख तेल उत्पादकहरुको समूह अर्थात् ओपेक प्लस बीच अगष्टदेखि उत्पादन बढाउने योजनाबारे सहमति हुन नसकेपछि तेलको भाउले टेवा पाएको हो ।
अगष्टमा उत्पादन वृद्धि नहुने ओपेक प्लस सम्बद्ध केही स्रोतहरुले बताएका छन् । अन्यले भने आगामी दिनमा यसबारे वार्ता र सहमतिगर्न नयाँ सम्झौता हुन सक्ने बताइरहेका छन् । तर अहिलेसम्म बैठकको नयाँ मिति भने तोकिएको छैन ।
लन्डनमा मध्यदिनको कारोबारमा तेलको अन्तरराष्ट्रिय बेञ्चमार्क ब्रेन्ट क्रुडको भाउ६२ सेन्ट अर्थात् शून्य दशमलव ८ प्रतिशतले बढेर प्रतिब्यारेल ७७ डलर ७८ सेन्टमा पुगेको थियो । ब्रेन्टको भाउ यस अघि सन् २०१८ को अक्टोबर यता यस स्तरमा आएको थिएन ।
अमेरिकी बेञ्चमार्क वेष्ट टेक्सस इन्टरमिडियट (डब्ल्यूटीआई) को भाउ पनि मंगलवार १ डलर ७५ सेन्ट अर्थात् २ दशमलव ३ प्रतिशतको वृद्धिसहित प्रतिब्यारेल ७६ डलर ९८ सेन्टमा पुगेको थियो । यो सन् २०१४ को नोभेम्बरयताकै उच्च हो ।
अगष्टयताको उत्पादन स्तरबारे प्र्रमुख तेल उत्पादकहरु बीच मतभेद देखिएको छ । जसकाकारण सोमवार वार्ताले निरन्तरता पाउन सकेन ।