नुवाकोट शिवपुरीका विद्यालयमा भौतिक पठनपाठन, पञ्चकन्याले तत्काल नगर्ने
नुवाकोट,असार २२ । जिल्लाको शिवपुरी गाउँपालिकाका विद्यालयहरुले भौतिक पठनपाठन सुरु गरेको छ। गाउँपालिकास्थित शिक्षा शाखा प्रमुख ज्ञानेन्द्र भट्टले भौतिक पठनपाठन नभएको दावी गरेतापनि सेवा क्षेत्रका कतिपय विद्यालयमा विद्यार्थीलाई प्रत्यक्ष कक्षामा उपस्थित गराइनुका साथै अध्ययनअध्यापन अगाडि बढाइएको अभिभावकहरुले बताएका छन् ।
जिल्ला प्रशासन कार्यालय नुवाकोटले भने कोरोना संक्रमणदर नघटेकाले निषेधाज्ञा जारी राख्नुपरेको र हाल कुनैपनि विद्यालयमा पठनपाठन संचालनका लागि अनुमति नदिइएको जनाएको छ । जिल्लास्थित प्रमुख जिल्ला अधिकारी जिवनप्रसाद दुलालले साझापथसंग कुराकानी गर्दै विद्यालयमा पठनपाठन सम्बन्धमा कुनै निर्णय नभएको र तत्काल यस बिषयमा आफुले बुझ्ने बताए।
शिवपुरी गाउँपालिका वडा नम्बर ७ मा अवस्थित ग्रामीणदेवी माध्यमिक विद्यालयले आइतबारदेखि पालिकाको निर्णय भन्दै विद्यार्थीलाई प्रत्यक्ष पठनपाठन गरिरहेको छ। सरकारले आउने दिनमा कोरोनाको भयावह स्थिति बालबालिकामा देखिन सक्ने भन्दै सतर्कता अपनाउन अनुरोध गरेतापनि मंगलबार विद्यालयका प्राङ्गणमा सुरक्षाका सामान्य मापदण्ड मास्क समेत नलगाई विद्यार्थीहरु खेलकुद तथा पठनपाठनमा सहभागी देखिन्थे।
हेर्नुस् तस्वीर
पञ्चकन्याले तत्काल भौतिक पठनपाठन नगर्ने
उता पञ्चकन्या गाउँपालिकाले तत्काल भौतिक पठनपाठन नगर्ने जनाएको छ। सोमबार गाउँपालिकास्तरीय प्रधानाध्यापकहरुको भेलाले उक्त निर्णय गरेको हो।
भेलामा सहभागी धेरैजसो प्रधानाध्यापकले कोरोना समुदायस्तरमै संक्रमण रहेकाले तत्काल भौतिक पठनपाठन अगाडि बढाइए समस्या जटिल बन्नसक्ने धारणा व्यक्त गरेका थिए।
हाललाई अन्लाईन तरिकाले गृहकार्यमा सहभागी गराउने र वर्षा तथा खेतीपाती समय लगत्तै महामारीको अवस्था आकलन गर्दै पठनपाठनलाई अगाडि बढाउनुपर्ने कुरामा सहभागीहरुले जोड दिएका थिए।
हेर्नुस् भिडियो