सर्लाहीमा खोलाले बगाएर दुईसहित चार जनाको मृत्यु



सर्लाही,असार २१ । जिल्लामा बेग्ला-बेग्लै घटनामा परेर चार जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मलङ्गवाले दिएको जानकारी अनुसार खोलाले बगाएर दुई जना, पोखरीमा डुबेर एक जना र सवारी दुर्घटनामा एक जना गरी चार जनाको मृत्यु भएको हो । आइतबार राती  ८ :३० बजेतिर बाँके खोलाले बगाएर ईश्वरपुर नगरपालिका–१३, का ४५ वर्षीय रामचन्द्र महतोको मृत्यु भएको छ ।

श्रीमती ४० वर्षीया रहन्ती देवीसँग बाँके खोलापारी महोत्तरीको कान्तिबजारमा चटपटे बेचेर घर फर्किदै गर्नुभएका रामचन्द्रलाई बाँके खोलामा आएको बाढीले बगाएको हो । रामचन्द्रलाई खोलाले बगाएको स्थान भन्दा करिव पाँच सय मिटर दक्षिणमा शव फेला परेको प्रहरीले जनाएको छ ।

खोलाको बीचमा अड्किनु भएकी रहन्ती देवीलाई भने प्रहरी र स्थानीय मिलेर सकुशल उद्धार गरेका छन् ।
यस्तै, गोडैता नगरपालिका–३, सीमरा भगवतीपुरमा पनि खोलाले बगाएर एक बालिकाको मृत्यु भएको छ । नुहाउने क्रममा बगी खोलाले बगाएर सोही ठाउँका सुरेन्द्र हजारीकी छोरी १३ वर्षीया रिभा हजारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आइतबार बिहान १०:३० बजेतिर खोलाले बगाएर बेपत्ता रिभाको प्रहरी र गाउँले मिलेर खोजी गर्ने क्रममा घटनास्थलबाट करिव पाँच सय मिटर दक्षिणमा शव फेला परेको प्रहरीले जनाएको छ । त्यसैगरी, कौडेना गाउँपालिका–५, छपकैयामा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । स्थानीय रामबाबु रायकी पाँच वर्षीया छोरी गुड्डी कुमारी रायको आइतबार साँझ साँढे पाँच बजेतिर घर छेउकै पोखरीमा डुबेर मृत्यु भएको हो ।

यसैबीच, सर्लाहीको बलरा नगरपालिका–७, डुमरियामा मोटरसाइकलको ठक्करबाट एक बालकको मृत्यु भएको छ । बरहथवा–मधुवनी सडक खण्डमा आइतबार दिउँसो पौने तीन बजेतिर बीआर ३० एच ०४३१ नम्वरको मोटरसाइकलले ठक्कर दिँदा बाटोमा खेलिरहनु भएका स्थानीय कल्याण मण्डलका आठ वर्षीय छोरा राजा मण्डलको मृत्यु भएको हो ।

बालकलाई उपचारका लागि जिल्ला अस्पताल मलङ्गवा ल्याइएपनि चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ । तीनवटै घटनाका मृतक चारै जनाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलङ्गवामा राखिएको छ । गोरखापत्रबाट

प्रतिक्रिया दिनुहोस्