त्रिशूली–बी १३२ केभी प्रसारण लाइन तथा सबस्टेशन उद्घाटन



काठमाडौं,असार २० । त्रिशूली–बी हब १३२ केभी प्रसारण लाइन तथा सबस्टेशनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको छ । नुवाकोटमा निर्मित समुन्द्रटार त्रिशूली बी हब १३२ केभी प्रसारण लाइन तथा सबस्टेशनको शनिवार प्रधानमन्त्री निवास बालुवाटारबाट भर्चुअल उद्घाटन गर्दै उहाँले विद्युत्को घरेलु माग आफ्नै उत्पादनबाट धान्ने अवस्था ल्याउन सरकार अघि बढिरहेको बताउनुभयो ।  

सरकारले उत्पादन वृद्धिमार्फत आयात प्रतिस्थापन, उत्पादित विद्युत्को प्रसारण र त्यसको खपतलाई सन्तुलित ढंगले अघि बढाएको समेत ओलीले बताउनुभयो । ‘पहिले तालमेल नमिलेर आयोजना तयार भइसक्दा प्रसारण लाइन नहुने, लाइन तयार हुँदा वितरण गर्ने ठाउँमा सबलाइन नहुने जस्ता कमजोरी थिए । अब त्यस्तो नहोस् भन्नेमा ध्यान दिएका छौं’, उहाँले भन्नुभयो ।

नेपालले करीब ११० वर्षअघि ऊर्जा उत्पादन शुरू गर्दै दक्षिण एशियामै दोस्रो जलविद्युत् उत्पादक देश बने पनि यस अन्तरालमा गर्नुपर्ने विकास भने नगन्य रहेको पनि प्रधानन्त्रीले उल्लेख गर्नुभयो । पछिल्लो समय कुलेखानी जलविद्युत् आयोजनाले देखाएको बाटो अनुरूप हालका वर्षहरूमा जलाशययुक्त आयोजनाको निर्माणलाई प्राथमिकताका साथ अघि बढाइएको पनि उहाँले बताउनुभयो ।

हाम्रो बहुआयामिक विकासको सन्दर्भमा उद्घाटित प्रसारण लाइन नयाँ उचाइ भएको धारणा पनि प्रधानमन्त्रीको थियो ।  अर्को प्रसंगमा प्रधानमन्त्रीले कोभिडविरुद्धको थप भ्याक्सिन आउने र खोपबाट वञ्चित हुनुपर्ने अवस्थाबाट देश मुक्त हुने बताउनुभयो । ‘कोभिडसँग लड्नुुुपर्ने अवस्थाबाट अब कोभिडलाई पहिले नै रोक्ने अवस्थामा जाँदै छौं,’ उहाँले भन्नुभयो । यद्यपि सबैलाई एकैपटक खोप सम्भव नहुने भन्दै उहाँले समूहगत रूपमा क्रमशः सबै जनतालाई खोप लगाइने बताउनुभयो । यतिबेला कतिपय स्थानमा भएका अतिवृष्टिका कारण जनधनको क्षति भोग्नुपरेको उल्लेख गर्दै प्रधानमन्त्रीले राहतका लागि सम्बद्ध स्थानमा रकम गइसकेको र घाइतेको उपचार सरकारले नै गर्ने जानकारी दिनुभयो । २६ किमी लामो १३२ केभी डबल सर्किटको उक्त प्रसारण लाइनबाट समुन्द्रटार सबस्टेशनलाई काठमाडौं उपत्यकाको मातातीर्थ सबस्टेशनमा मात्र नभई अन्य सबस्टेशनसँग पनि जोड्ने योजना रहेको जानकारी नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दिए । उनका अनुसार प्रसारण लाइबाट रसुवा र नुवाकोटमा उत्पादन भई त्रिशूली–३ बी हब सबस्टेशनमा प्राप्त हुने ६०० मेगावाटभन्दा बढी विद्युत्लाई सीधै काठमाडौं ल्याउन ठूलो मद्दत पुग्नेछ । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्