गोरखामा खोलाले बगाउँदा एक युवकको ज्यान गयो



गोरखा,असार १९ । जिल्लाको आरुघाट गाउँपालिका–१ श्यामचेतका एक युवकको खोलाले बगाउँदा ज्यान गएको छ ।

 शनिबार बिहान करिब ९ः३० बजे आरुघाट गाउँपालिकाको वडा नं ३ स्थित फुङ्गीखोला तर्ने क्रममा चिप्लिएपछि खोलाले बगाएका २६ वर्षीय किरण लामाको उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिए ।

खोलाले बगाएर ती युवकलाई करिब २० मिटर तल पुर्याएको थियो । पानीको भेलले बगाउँदै युवालाई किनारामा फालेपछि स्थानीयवासी देखेर उद्धार गरी उपचारका लागि आरुघाट प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्याएका थिए । उनको उपचार गर्दा गर्दै  करिब ११ः०० बजे मृत्यु भएको प्रहरी नायब उपरीक्षक दाहालले बताए ।

प्रतिक्रिया दिनुहोस्