धादिङमा पहिरोले ५ सवारी साधन पुरिँदा दुईको मृत्यु, ६ जना घाइते



धादिङ,असार १९ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङमा ५ वटा सवारीसाधन पहिरोले पुरिएको छ। शनिबार बिहान जिल्लाको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर १० जवाङ खोलामा पहिरोले सवारी साधन पुरिँदा दुई जनाको मृत्यु भएको र अन्य ६ जना घाइते भएको प्रहरीले जनाएको छ । 

मृत्यु हुनेमा काठमाडौँ तर्फबाट मुग्लिनतर्फ जाँदै गरेको ना ८ ख ४५४० नम्बरको ट्रकमा रहेका चितवनको राप्ती नगरपालिका ६ बस्ने अन्दाजी १८ वर्षीय बिरबल प्रजा र चितवनबाट काठमाडौँ जादै गरेको ना ७ ख ३२० नम्बरको कन्टेनरमा सवार भारतकी ४३ वर्षीया सोनी देवी रहेका छन् ।

प्रहरी नायव उपरीक्षक जागेश्वर भण्डारीका अनुसार पहिरोले सवारीसाधन पुरिँदा घाइते हुनेमा ना ८ ख ४५४० नम्बरको ट्रकमा सवार चितवनको राप्ती नगरपालिका वडा नं ६ का ४० वर्षीय हरिबहादुर प्रजा , चितवन भण्डाराका ३६ वर्षीय सुदिप प्रजा त्यस्तै, ना ७ ख ३२० नम्बरको कन्टेनरमा सवार भारतका ५५ वर्षीय राकेश कुमार, ७ वर्षीय शुभम कुमार, २७ वर्षीय सन्देश कुमार र २५ वर्षीय राजा कुमार रहेका छन् । घाइतेहरुको पोखराको गण्डकी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस्