मनाङका सरकारी कार्यालयलाई गण्डकी सरकारले दियो सोलार



कास्की,असार १९ । गण्डकी प्रदेश सरकारले मनाङका १६ ओटा सरकारी कार्यालयलाई सोलार प्यानल, इन्भर्टर र ब्याट्री खरीद गरेर त्यसतर्फ पठाएको छ । 

मनाङका सरकारी कार्यालयका लागि ऊर्जा शक्ति उपलब्ध गराउन करीब १९ लाख रुपैयाँको सामान खरीद गरिएको हो ।बिजुली बत्ती नभएका कारण कार्यालयमा काम प्रभावित भएकाले सोलार खरीद गरी पठाइएको मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बताए ।

उनका अनुसार प्रदेशको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयले छरितो प्रक्रियामार्फत सामान खरीद गरी पठाएको हो ।सार्वजनिक खरीद ऐनको दफा ४१(१) (घ३) बमोजिम सार्वजनिक खरीद प्रक्रिया अपनाई सामान पठाइएको हो ।

सामान खरीद गरेर लमजुङ सदरमुकाम बेंसीशहरमा पुर्‍याइएको छ । बुधवार नै सामान बेंसीशहर पुर्‍याएको भए पनि मौसम खराब भएका कारण हेलिकोप्टर उड्न नसकेकाले समस्या आएको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयका सचिव रामचन्द्र श्रेष्ठले बताए ।

मनसुनको शुरुसँगै बाढी पहिरोका कारण विद्युत सेवा अवरुद्ध भएका कारण मनाङ जिल्ला अन्धकारमा छ । बाढी पहिरोका कारण स्थानीयस्तरका लघु जलविद्युत् योजनामा क्षति पुगेको छ । 

राष्ट्रिय प्रसारण लाइनको पोल ढलेका कारण मनाङ सदरमुकाम चामेसहित गाउँहरुमा बिजुली बत्ती अवरुद्ध भएको छ । असार मसान्तमा सम्पादन गर्ने कामसमेत बिजुली नभएकै कारण प्रभावित भएको गुनासो आएपछि प्रदेश सरकारले आवश्यक सामग्री पठाएको हो ।

प्रदेश सरकारको निर्देशनमा खरीद गरिएका सामग्रीहरु जिल्ला प्रशासन कार्यालय मनाङले प्राथमिकताका आधारमा कार्यालयलाई उपलब्ध गराउने छ ।
मुख्यमन्त्री पोखरेलको अध्यक्षतामा असार ६ गते बसेको प्रदेश विपद् व्यवस्थापन समितिको बैठकले सोलार खरीद गरेर पठाउने निर्णय गरेको थियो ।
सामान ढुवानीका लागि लागेको ४ लाख ३१ हजार रुपैयाँ गण्डकी सरकारले नै व्यहोरेको छ । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्