नागरिक लगानी कोषद्वारा १ खर्ब ७२ अर्ब लगानी



९ % बोनस शेयर पारित

काठमाडौं,असार १९। नागरिक लगानी कोषले चालू आर्थिक वर्षको जेठ मसान्तसम्ममा १ खर्ब ७२ अर्ब रुपैयाँ बराबरको रकम संकलन गरेको छ ।

यस्तै सो अवधिसम्म १ खर्ब ७१ अर्ब ९७ करोड रुपैयाँ बराबरको लगानी गरेको छ । कोषको पूँजी वृद्धि हुनका साथै कारोबारसमेत विस्तार भएको छ । कोषको शुक्रवार सम्पन्न २६ औं वार्षिकोत्सव एवं साधारणसभाको अवसरमा उक्त विवरण सार्वजनिक गरिएको हो ।

भर्चुअल माध्यमबाट आयोजित सभाले आर्थिक वर्ष २०७६/ ७७ को आम्दानी बाँडफाँड हिसाव बिवरणमा छुट्याएको प्रस्तावित ९ प्रतिशत बोनस शेयर र ८ दशमलव ८९ प्रतिशत नगद लाभांस पनि पारित गरेको छ ।सभाले आव २०७६/ ७७ को वार्षिक प्रतिवेदन पारित गरेको छ ।

उक्त प्रतिवेदनसँगै लेखापरीक्षकको प्रतिवेदनसहितको २०७७ असार मसान्तको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाहसम्बन्धी विवरणसमेत पारित गरेको कोषले बताएको छ ।     
     
कोषको आर्थिक वर्ष २०७६/ ७७ को करपछिको खुद नाफा ६१ करोड ९६ लाख ७० हजार रुपैयाँ रहेको छ । सो अवसरमा खुद नाफामध्ये बाँडफाँटयोग्य रकम  ५५ करोड ३६ लाख ७२ हजार रुपैयाँ रहेको जानकारी दिइयो ।     
     
कार्यक्रममा कार्यकारी निर्देशक रमण नेपालले कोषको वस्तुस्थिति बारे जानकारी दिंदै थप विस्तारितरूपमा अगाडि बढ्ने उल्लेख गरे । कोषको कारोबार विस्तार गर्दै स्वरोजगार र वैदेशिक रोजगारमा रहेका नागरिकलाई आबद्ध गराउने उद्देश्यले नागरिक पेन्सन योजना कार्यक्रम शुरु भइसकेको कार्यकारी निर्देशक नेपालको भनाइ छ ।     
     
मुलुकको पूँजीबजारको विकास, विस्तार र स्थायित्व प्रदान गर्ने उद्देश्यले कोषको अग्रसरतामा नागरिक स्टक डिलर कम्पनी स्थापना गरी कारोबार शुरु भएको छ ।     
     
कोषले एनएलके वेभ बेष्ड सफ्टवेयर पूर्णरूपमा लागू गरेको छ भने सरकारको सरकारी लेखा प्रणाली (सिगास) सफ्टवेयरमा डाटा आदानप्रदान गर्ने कार्य सम्पन्न भएको छ । त्यस्तै नयाँ सफ्टवेयरको प्रयोगका लागि आवश्यक उपकरण खरीद गरी कोषको प्रणालीमा जडान गरिसकिएको छ ।

सो अवसरमा कोष सञ्चालक समितिका अध्यक्ष प्रा डा रामचन्द्र भट्टराईले सेवा विस्तार गर्दै कोषलाई भरपर्दो संस्थाका रूपमा अगाडि बढाइएको जानकारी दिए । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्