खोपको प्राथमिकतामा छैनन् शिक्षक
काठमाडौं, असार १८ । सरकारले कोरोनाविरुद्ध खोप लगाउन शिक्षकलाई प्राथमिकतामा नराखेको भन्दै अधिकांश विद्यालयका शिक्षकले कक्षा कोठामा भौतिक उपस्थितिसहित पठनपाठन नगर्ने नगराउने बताएका छन् । अहिले देशभर झन्डै ४ लाख शिक्षक–कर्मचारी छन् । तीमध्ये अधिकांशले खोप लगाउन पाएका छैनन् । खोप लगाउने प्राथमिकतामा समेत शिक्षक–कर्मचारी छैनन् ।
शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ स्वास्थ्यमन्त्रीसमेत भए पनि खोप अभियानमा आफूलाई प्राथमिकतामा नराखेको शिक्षकको गुनासो छ ।
नेपालमा पहिलोपटक ८ माघ २०७७ मा भारत सरकारमार्फत १० लाख मात्रा कोभिसिल्ड खोप भित्रिएको थियो । खोप अभियान सुरु भएको १ सय ५८ दिन बितिसक्दा पनि शिक्षकलाई खोप लगाउन सरकारले कुनै ठोस जवाफ दिएको छैन । १ असारबाट शैक्षिकसत्र सुरु भएको छ । सरकारले जारी गरेको निषेधाज्ञासमेत खुकुलो हुँदै गएको छ । तर, यो बेलामा शिक्षकलाई खोप लगाएको भए भौतिक उपस्थितिसहित पठनपाठन गराउने विकल्पबारे सोच्न सकिन्थ्यो ।
अहिले अधिकांश विद्यालयका शिक्षकले खोप लगाउन नपाउँदा हामीलाई खोप कहिले रु भन्दै सरकारसमक्ष प्रश्न तेस्र्याएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार पारेको कोभिड १९ खोपका लागि लक्षित समूहको प्राथमिकीकरणमा पनि शिक्षकलाई समेटिएको छैन ।
नेपाल शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले खोप लगाउन सरकारले शिक्षकलाई प्राथमिकतामा नराखेको बताए । उनले भने, हामी विद्यार्थीसँग प्रत्यक्ष जोडिने व्यक्ति हौं । सरकारलाई पटकपटक खोप दिलाउन लिखित र मौखिक आग्रह गरे पनि सरकार गम्भीर देखिँदैन ।’ सरकारले खोप उपलब्ध नगराउँदासम्म कक्षाकोठामा भौतिक उपस्थितिसहित पठनपाठन गराउन नसकिने भन्दै यो अवस्थामा वैकल्पिक विधिबाट मात्रै पठनपाठन गराइने बताए ।
काठमाडौं त्रिपुरेश्वरस्थित विश्व निकेतन माध्यमिक विद्यालयका प्रधानाध्यापक हेरम्बराज कँडेलले शिक्षकहरूलाई कोरोनाविरुद्ध खोपको प्राथमिकतामा राखिनुपर्ने बताए । उनले भने, ‘शिक्षकहरूलाई खोप लगाउनबाट सरकारले बेवास्ता गरेको छ । शिक्षकहरू अभिभावक, विद्यार्थीसँग प्रत्यक्ष सम्पर्कमा रहिरहनुपर्नेहुन्छ । त्यसैले पनि शिक्षकलाई खोपको पहिलो प्राथमिकतामा राख्नुपर्ने हो ।’
सरकारले २ करोड १७ लाख ५६ हजार ७ सय ६३ जना नागरिकलाई खोप लगाउने लक्ष्य लिएको छ । केही दिनमै सरकारले खरिद गरेको १० लाख डोज भेरोसिल खोप चीनबाट नेपाल भित्रिँदै छ । तर, सो खोप लगाउने सूचीमा पनि शिक्षक प्राथमिकतामा छैनन् । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म २५ लाख ७७ हजार ९ सय ६५ जनाले खोपको पहिलो मात्रा लगाएका छन् । यस्तै, ७ लाख ४९ हजार १ सय ३६ जनाले खोपको पहिलो र दोस्रो मात्रा लगाएका छन् ।
यो समाचार राजधानी दैनिकमा प्रकाशित छ।