नेपाने घटनाबारे प्यूठान प्रहरीको अनुसन्धान निष्कर्ष : बाटो कुरेर युवकको हत्या



प्युठान,असार १७ । जिल्लामा युवकको हत्यामा संलग्न ३ जना अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ।

प्यूठान नगरपालिका-१० नेपानेमा सोमबार बिहान मृत भेटिएका २४ बर्षिया हेमन्त भनिने नरेन्द्र पुन मगरको हत्या आरोपमा पक्राउ परेका दुई बालक र एक युवकलाई बिहिबार बिहान पत्रकार सम्मेलन गरि प्रहरीले सार्वजनिक गरेको हो।

घटनाको अनुसन्धानबाट स्थानिय बर्ष १५ र १७ को दुई बालक र मल्लरानी-३ बस्ने वर्ष १८ को रेमबहादुर घर्तिले नरेन्द्रको हत्या गरेको देखिएको प्यूठान प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक सुनिल मल्लले बताउनुभयो ।मल्लका अनुसार सामान्य बिबादबाट सुरु भएको घटना कुटपिटमा परिणत हुँदा युवकको हत्या भएको अनुसन्धानमा देखिएको छ। दिदिको गोठ बनाउने काम सकेर साँझ प्यूठान -१० पातिहाल्ना घर जाने क्रममा अभियुक्तहरुले बाटो कुरेर नरेन्द्र र उनीसँग रहेका २५ वर्षिय सुरेश बस्नेत माथि आक्रमण गरेको प्रहरी अनुसन्धानको निचोड छ ।

‘काम सकेपछी नरेन्द्र र उनका साथी शुरेसले ढेब्री पसलमा बसेर मादक पदार्थ सेवन गरेका रहेछन।’ ‘प्रहरी नायब उपरीक्षक मल्लले भन्नुभयो,’मादक पदार्थ सेवनपछि दुवैजना घरतर्फ लागेछन । घरतर्फ जाँदै गर्दा बाटाेमा अभियुक्तहरुसंग भेट भएछ । दुवै जनाले अश्लिल शब्द प्रयोग गर्दै गाली गलौज गर्न थाले, विवाद बढ्यो । त्यहि विवाद हत्या योजनामा परिणत हुन पुग्यो ।’

घटनाको जानकारी पाएलगत्तै प्रहरी टाेली घटनास्थल पुगेको थियो । असार १४ गते विहान  नरेन्द्र मृत र शुरेस अचेत अवस्थामा फेला परेका थिए । लौरोले टाउकोमा आक्रमण गर्दा नरेन्द्रको मृत्यु हुनुका साथै सुरेश घाईते भएको प्रहरीले जनाएको छ । गंभीर घाईते सुरेशको भैरहवामा  उपचार भईरहेको छ ।

हिरासतमा राखेर अभियुक्तहरु माथी कर्तब्य ज्यान सम्बन्धी मुद्दामा अनुसन्धान भईरहेको प्यूठान प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्