एम्बुलेन्समाथि पहिरो खस्दा बिरामीको मृत्यु



कास्की,असार १७ । कास्कीमा एम्बुलेन्समाथि पहिरो खस्दा एकजना  बिरामीको ज्यान गएको छ । बिरामीको घटनास्थलमै मृत्यु भएको हो । जिल्लाको मादी गाउँपालिका–९ मुग्रीबेंसीबाट बिरामी लिएर थुम्सीकोटतर्फ जाँदै गरेको एम्बुलेन्समाथि पहिरो खस्दा एम्बुलेन्समा सवार बिरामी ८३ वर्षीय गोमा अधिकारीको ज्यान गएको हो ।

दुर्घटनामा एम्बुलेन्स चालक सुवास अधिकारी घाइते भएको मादी गाउँपालिका अध्यक्ष वेदबहादुर गुरुङले जानकारी दिनुभयो । एक्कासी लेदोसहितको बाढी आएर एम्बुलेन्समाथि परेपछि चालकले भागेर ज्यान जोगाएका थिए ।

घाइते अधिकारीलाई थप उपचारका लागि पोखरा ल्याइएको छ । पहिरोले एम्बुलेन्सलाई करिब सय मिटर तल बगाएको छ ।

प्रतिक्रिया दिनुहोस्