मध्यपहाडी अन्तर्गत भद्रुटार त्रिवेणी धामको पुल सम्झौता मिति अगावै सम्पन्न



नुवाकोट, असार १७ । मध्यपहाडी लोकमार्ग अन्तर्गत भद्रुटार त्रिवेणी धामको पुल सम्झौता मिति अगावै निर्माण सम्पन्न भएको छ। मध्यपहाडी लोकमार्ग अन्तर्गत गाउँपालिकाको वडा नं. ५ र शिवपुरीको संगम स्थानमा रहेको त्रिवेणी पुल सम्झौता मिति अगावै सम्पन्न भएको निर्माण कम्पनिले जनाएको छ।

अमृत जलकेनी जेभि निर्माण कम्पनिले ठेक्का पाएको उक्त आयोजना सम्पन्न गर्ने सम्झौता मिति भन्दा ३ महिना अगाडि नै निर्माण सम्पन्न गरी आयोजनालाई हस्तान्तरण गरेको निर्माण कम्पनीले जनाएको छ।

निर्माण कम्पनीका ठेकेदार दिपक लामाका अनुसार २० मिटर लामो उक्त पुल निर्माणमा करिब ४ करोड ५५ लाख लागत खर्च भएको छ । लामाका अनुसार महामारीका बीच पनि स्वास्थ्य मापदण्ड पालना गर्दै सझौता मिति भन्दा ३ महिना अगावै पुल निर्माण सम्पन्न गरिएको हो ।

छहरे- बुढिसेरा कालोपत्रे गुणस्तरमा आशंका

मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्ने छहरे-बुढिसेरा सडकखण्ड कालोपत्रे कार्यको गुणस्तरमा भने आशंका उब्जिएको छ। यस वर्ष निर्माण समय अगावै सुरु भएको वर्षाका कारण यस सडकखण्ड कालोपत्रे गुणस्तरमा भने आशंका उब्जिएको सरोकारवालाहरुले बताएका छन्।

मध्य पहाडी लोकमार्ग अर्थात पुष्पलाल मार्ग अन्तर्गत पर्ने नुवाकोटको छहरे-बुढिसेरा सडक कालोपत्र सुरु लगत्तै असारको पहिलो सातादेखि वर्षा सुरु भएतापनि आकाश हेर्दै निर्माण कम्पनीले कालोपत्रे कार्य अगाडि बढाएको स्थानीयले बताएका छन् । कुल १ अर्ब बजेट योजनामा निर्माण भैरहेको सडक मार्गको यस खण्डमा पर्ने ड्रेन तथा नाली निर्माण सम्पन्नसंगै कालोपत्रे सुरु गरिएतापनि मौसमले दुख दिएको मध्य पहाडी मार्गका सुपरभाइजर हरि सिटौलाले बताए । अहिले यतिकै छाडे सडक वर्षापछि पहिलेकै अवस्था फर्किने भएकाले खर्च भैसकेको मिहिनेत हिउँदमा कसरी ब्यवस्थापन गर्ने बारे कम्पनी सोचिरहेको बताए।

तराई छिचोलेर बन्ने पूर्व-पश्चिम (महेन्द्र) राजमार्गको विकल्प मानिएको मध्यपहाडी लोकमार्गको नुवाकोट छहरे-बुढिसेरा अन्तर्गतको ३ किलोमिटर सडक हाललाई कालोपत्र हुने बताइएको थियो । कतिपय प्राविधिक तथा स्थानीय समन्वय बिना काम अगाडि बढाउन नसकिने भएकाले कालोपत्रेका लागि सुरुमै ढिलाइ भएको सडकका कर्मचारीहरु बताउँछन् । उनीहरुले उक्त सडकखण्ड वैशाख भित्रै कालोपत्र सम्पन्न गर्ने बताइएपनि निर्माणका क्रममा बैशाखमा सवबेस तथा ड्रेन निर्माणमै समय खर्चिएको बताए ।

प्रतिक्रिया दिनुहोस्