मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक : विभिन्न पदमा नियुक्ति तथा जिम्मेवारी हेरफेर



काठमाडौं,असार १७ । सरकारले सार्वजनिक खरीद पुनरवलोकन समितिको अध्यक्षमा हिमकुमार ओझालाई नियुक्त गरेको छ । सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री वसन्त नेम्वाङले मन्त्रिपरिषद्को पछिल्ला चार बैठकको निर्णय बुधवार सार्वजनिक गर्दै जेठ ३१ गतेको बैठकले ओझालाई नियुक्त गरिएको जानकारी दिए ।

यसैगरी नेपाल इञ्जिनियरिङ परिषद्को रजिष्ट्रारमा शिवमंगल गिरी नियुक्त भएका छन् । शिक्षा मन्त्रालयको प्रस्तावमा नेपाल विश्वविद्यालय पूर्वाधार विकास समितिको अध्यक्ष डा. अर्जुन कार्कीलाई नियुक्त गरिएको छ भने योगमाया आयुर्वेदिक विश्वविद्यालयको पूर्वाधार निर्माण समिति सदस्यमा खड्कबहादुर राई र वंशीधर लामा नियुक्त भएका छन् । असार ७ गतेको बैठकले एशियाली विकास बैंकको कार्यकारी निर्देशकको कार्यालय मनिलामा दुईवर्षे कार्यकालका लागि नेपालको प्रतिनिधित्व गर्ने निर्देशकको सल्लाहकारमा श्रम मन्त्रालयका उपसचिव रमेश अर्याललाई मनोनयन गरी काजमा पठाउने पनि निर्णय गरिएको छ ।

सशस्त्र प्रहरी बल मानव स्रोत विभागमा कार्यरत सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी) पुष्पराम केसीलाई कार्य तथा सीमा सुरक्षा विभागमा सरुवा गरिएको छ भने उनको ठाउँमा कार्य तथा सीमा सुरक्षा विभागमा कार्यरत एआईजीपी रामशरण पौडेललाई ल्याइएको छ । सरकारले नागरिक एप (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका, २०७८ स्वीकृत गरेको छ । सञ्चारमन्त्री नेम्वाङले सरकारले निर्देशिका स्वीकृत गरेको जानकारी दिए । सरकारले सार्वजनिक निकायमा रहेका विद्युतीय सूचना प्रणालीबीच अन्तर आबद्धता कायम गरी नागरिकलाई प्रभावकारी रूपमा एउटै विद्युतीय प्रणालीबाट सेवा र सूचना प्रवाहको व्यवस्था गर्न निर्देशिका ल्याइएको बताएको छ ।

नेपाली सेनाका पाइलट सहायक रथी आशिष नरसिंह राणालाई पाइलट उपरथीमा बढुवा गरी पदस्थापन गर्ने निर्णय गरिएको पनि नेम्वाङले जानकारी दिए । असार ७ कै बैठकले मदन भण्डारी औद्योगिक विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिका सदस्यमा प्राडा. मनिलराज कुलाक्षपति, डा. पदमबहादुर शाही र डा. अनिल पोखरेल नियुक्त भएका छन् । यस्तै सीटीईभीटीको सदस्यसचिवको जिम्मेवारी जितनारायण काफ्लेलाई दिइएको छ । राष्ट्रिय समाचार समितिको महाप्रबन्धकमा धनकुटाका सिद्धराज राई नियुक्त भएका छन् ।

मन्त्री नेम्वाङका अनुसार असार १४ गते सार्वजनिक खरीद पुनरवलोकन समितिको सदस्यमा महेन्द्रबहादुर गुरुङ र राष्ट्रिय योजना आयोगको सदस्यमा राजबहादुर गिरीलाई नियुक्त गरिएको छ । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्