महामारीकै बीच देशभर धान दिवस मनाइँदै
काठमाडौं,असार १५ । कोरोना महामारीकै बीच मंगलवार देशभर राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइँदै छ । ‘धान उत्पादनमा वृद्धि : खाद्य सुरक्षा, आत्मनिर्भरता र समृद्धि’ नाराका साथ यस वर्ष अठारौं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउन लागिएको हो ।
अठारौं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, मूल समारोह समितिको आयोजनामा मंगलवार खुमलटारस्थित कृषि अनुसन्धान परिषद्को जग्गामा धान रोपाइँ गरी सरकारले औपचारिक रूपमा धान दिवस मनाउन लागेको हो । धानबालीको उत्पादनमा वृद्धि गरी खाद्य सुरक्षा, आत्मनिर्भता र राष्ट्रिय समृद्धि हासिल गर्ने दिशामा सहकार्यका लागि सम्पूर्ण सरोकारवालालाई सरकारले आह्वान गरेको छ ।
कोरोना महामारीका कारण यस वर्षको धान दिवस भने औपचारिकतामा मात्र सीमित हुने कृषि विभागले बताएको छ । विभागका वरिष्ठ बाली विकास अधिकृत मोहनप्रसाद खतिवडाका अनुसार स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै औपचारिक रूपमा मात्रै धान दिवस मनाइनेछ ।
देशभर अन्य विभिन्न जिल्लामा समेत औपचारिक रूपमा सामान्य कार्यक्रम गरी धान रोपेर धान दिवस तथा रोपाइँ महोत्सव मनाउन लागिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बताएको छ । कोरोनाको महामारीलाई ध्यानमा राख्दै भीडभाड नगरी सुरक्षाका मापदण्ड पालना गरी धान दिवस मनाउन आग्रह गरिएको मन्त्रालयका प्रवक्ता डा. श्रीराम घिमिरेले जानकारी दिए ।
नेपालमा धान तथा यसका उपउत्पादनको आन्तरिक आपूर्ति करीब १ खर्ब ५ अर्ब रुपैयाँ बराबरको हुने गरेको सरकारी तथ्यांक छ । सरकारको पछिल्लो तथ्यांक अनुसार कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान करीब २६ प्रतिशत रहेको छ । कृषि क्षेत्रको गार्हस्थ्य उत्पादनमा भने धानको हिस्सा करीब १५ प्रतिशत रहेको छ ।
नेपालमा कृषियोग्य जमीनको ४७ प्रतिशतमा धानखेती गरिन्छ । अन्नबालीको कुल उत्पादनमा ५३ प्रतिशत हिस्सा धानको रहेको छ । चालू आव २०७७/७८ मा १४ लाख ७३ हजार हेक्टर क्षेत्रफलबाट ५७ लाख २१ हजार मेट्रिकटन धान उत्पादन भएको छ । अघिल्लो वर्षको तुलनामा धानको क्षेत्रफल र उत्पादनमा क्रमशः १ प्रतिशत र १ दशमलव ३ प्रतिशतले वृद्धि भएको सरकारी तथ्यांकले देखाएको छ । आर्थिक अभियानबाट