नुवाकोटमा असार २५ गते सम्म निषेधाज्ञा थपियो



नुवाकोट,असार १४ । जिल्लामा असार २५ गते सम्मको लागी निषेधाज्ञा जारी गरिएको छ । कोभिड १९ जिल्ला संकट ब्यबस्थापन केन्द्रको सिफारिसमा जिल्ला सुरक्षा समिति नुवाकोटले असार २५ गते सम्मको लागी निषेधाज्ञा जारी राख्ने निर्णय गरेको हो ।

जिल्ला प्रशासन कार्यलय नुवाकोटमा बसेको बैठकले नुवाकोटमा दैनिक रुपमा कोरोना संक्रमितको संख्यामा वृद्धि भैराखेकाले असार २५ गते सम्मको लागी निषेधाज्ञालाई निरन्तरता दिन लागिएको बताइएको छ। जिल्लामा हाल सक्रिय कोरोना संक्रमित ७ सय ९३ रहेको र ३४ जनाको मृत्यु भइसकेकाले कोभिड १९ को चेन ब्रेक गर्न सम्पुर्ण पक्ष सतर्कताका साथ लाग्नु पर्ने निर्णय समेत बैठकले गरेको छ ।

निर्णय अनुसार अत्यावश्यक काम बाहेक घर बाहिर निस्कन नपाउने, नेपाल सरकारद्वारा तोकिएको सामाजिक दूरी, स्वास्थ्य सुरक्षा मापदण्डको अनिवार्य पालना गर्ने, बजार, मेला, महोत्सव, पार्टी, भोज, भतेर लगायतका भिडभाड हुने कार्य नगर्ने नगराउने र कोभिड–१९ को लक्षण देखिएमा वा त्यस्तै प्रकारका अन्य कुनै स्वास्थ्य समस्या देखिएमा तुरुन्तै नजिकको स्वास्थ्य संस्था वा स्थानीय तहमा सम्पर्क राख्नु पर्नेछ ।गृह मन्त्रालयको निर्देशन अनुसारनै नुवाकोटमा निषेधाज्ञा जारी गरेको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ । उता रसुवामा पनि थप ७ निषेधाज्ञा जारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्