असारभित्रै चीनबाट थप खोप आउने
काठमाडौं, असार १४। चीनले एक महिनाअघि नेपाललाई उपलब्ध गराउने भनेको ५० लाख डोज खोपअन्तर्गत करिब आधाजति यही असारभित्र आउने भएको छ। चीनले नेपाललाई अनुदानमा १८ लाख र खरिद प्रक्रियाअन्तर्गत ५० लाख डोज खोप दिने घोषणा गरेको थियो।
बेइजिङस्थित नेपाली दूतावासलाई प्राप्त सूचनाअनुसार यो चरणमा चीनले घोषणा गरेको डोजभन्दा कम खोप दिने स्थिति रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। ‘चीनस्थित नेपाली दूतावासलाई जानकारी भएअनुसार २० देखि ३० लाख डोज खोप दिने कुरा छ तर यति नै दिने भनेर यकिनसहितको पत्र आइसकेको छैन’,
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका विज्ञ डाक्टर रोशनकुमार पोखरेलले भने। खरिदअन्तर्गत आउने यो खोपको मूल्य भने एउटाको १० देखि १४ अमेरिकी डलर पर्नेछ। चीनले नेपाललाई सिनोफार्म कम्पनीबाट उत्पादित ‘भेरोसेल खोप’ बिक्री गर्न लागेको हो।
यो समाचार नागरिक दैनिकमा प्रकाशित छ।