‘सामाजिक सुरक्षा भत्तै चोर्न पर्ने हैसियत हो त पञ्चकन्याका अध्यक्षको ?’
नुवाकोट,असार १३ । नुवाकोट जिल्ला पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङले आफ्नो हैसियत सामाजिक सुरक्षा भत्ता चोर्नुपर्ने अवस्थाको नरहेको स्पष्ट पारेका छन् ।
हालै साझापथ डटकमसंगको भिडियो संवादमा अध्यक्ष तामाङले पञ्चकन्या गाउँपालिका वडा २ को ५३ लाख रकम हराएको घटनामा आफ्नो मिलेमतोमा भएको भनी समाचारहरु सम्प्रेषित भएकोमा सत्य तथ्य बुझ्न सम्बन्धित पक्षलाई आग्रह गरेका हुन् ।
‘पत्रकार मित्रहरुलाई भन्न चाहन्छु । सामाजिक सुरक्षा भत्तै चोर्न पर्ने हैसियत हो त पञ्चकन्याका अध्यक्षको ? । म कस्तो किसिमको मान्छे हो । मेरो हैसियत के हो साँच्चिकै राति पीपीई नै लगाएर वडा कार्यालयको ५३ लाख चोर्नै पर्ने खालको अध्यक्ष हो त पञ्चकन्याको ? जसले त्यस्ता अनर्गल टिकाटिप्पणी गरिरहेका छन् । ती साथीले मलाई नजिकबाट चिन्न पर्यो । कि त अरुलाई सोध्नु पर्यो । कि त मलाई भेट्नु पर्यो,’ उनले थपे, ‘पञ्चकन्याको अध्यक्ष ५३ लाख चोरी गर्न आफैं झोला बोकेर हिँड्ने खालको मान्छे हो कि होइन भनेर उनीहरुले बुझ्न जरुरी छ नि त । म त्यही खालको मान्छु हुँ त ?’
आफूमाथि मिथ्या आरोप लगाएर चरित्र हत्या गर्न खोजिएको भन्दै अध्यक्ष तामाङले आपत्ति जनाए । ‘अनावश्यक हल्लाको पछि लाग्नु र अरुको चरित्र हत्या गर्ने काममा नलाग्नका निम्ति पनि अनुरोध गर्न चाहन्छु । अहिले जुन ढंगले हामीलाई हिलो छ्याप्ने, बदनाम गर्ने काम भएको छ । पञ्चकन्यामात्रै होइन देशैभरी पञ्चकन्याका अध्यक्षलाई जसले चिन्नु भएको छ । पञ्चकन्याका अध्यक्षको हैसियत के हो भनेर राम्ररी चिन्नु भएको छ । मलाई चिन्नुहुने व्यक्तिहरुले त्यस्तो घटना मैले गरेको भन्ने विश्वास गर्नु भएको छैन । यिनले यसो गर्न सक्दैनन् भन्नेमा विश्वस्त हुनुहुन्छ ।’
घटनाको सत्यतथ्य जति छिटो सार्वजनिक गर्न पाए हुन्थ्यो भन्ने कुरामा आफू लागिरहेको भन्दै अध्यक्ष तामाङले पञ्चकन्याका नागरिकलाई भन्दा यस विषयमा आफूलाई दोब्बर चिन्ता रहेको सुनाए । ‘मेरो दायित्व, जिम्मेवारी हो । २०६८ को जनगणनाअनुसार पञ्चकन्या गाउँपालिकामा रहेका १५ हजार ९ सय ४५ नागरिकलाई जति पीडा छ । त्यो भन्दा डबल पीडा मलाई छ । यो घटनाको सत्यतथ्य जति छिटो सार्वजनिक गर्न पाए हुन्थ्यो भन्ने कुरामा लागिरहेको छु ।’
आफू एक्लैको प्रयासले यो घटनालाई निचोडमा पुर्याउन नसक्ने भन्दै अध्यक्ष तामाङले बाटोमा हिँड्दा वृद्धबाआमाहरुले भत्ता कहिले आउँछ भनेर सोध्दा मन छुने गरेको पनि उनले बताए । ‘टोलमा, बाटोमा हिँडिराखेको ठाउँमा वृद्ध बाआमाहरुले भेट्यो कि अरु कुरा केही पनि गर्नुहुन्न । भत्ताको पैसा कहिले आउँछ अध्यक्षज्यू? भनेर सोध्नुहुन्छ, त्यसले अत्यन्तै मन छोएको छ,’ उनले थपे, ‘यो सार्वजनिक गर्ने विषय म एक्लैले सम्भावना छैन । दोषी पत्ता लगाउने काममा अनुसन्धानको टिम लागिरहेको छ । प्रहरी टिम लागिरहेको छ । छिटो सार्वजनिक हुनेमा विश्वास लिएको छु ।’
भत्ता लिनबाट बञ्चित भएका वडा नं २ का जेष्ठ नागरिक, एकल महिला, अपांगता भएका व्यक्तिहरुलाई भत्ता वितरण गर्न पाए, त्यो भन्दा ठूलो खुसी अरु हुन नसक्ने अध्यक्ष तामाङले तर्क गरे ।
गत चैत २४ गते बैंकबाट झिकेर वडा कार्यालयको दराजमा राखेको सामाजिक सुरक्षा भत्ताबापतको ५० लाख र कार्यालयमा रहेको थप ३ लाख ५३ हजार चोरी भएको थियो । जुन घटनामा पञ्चकन्या पालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेश पुडासैनीलाई केन्द्रीय मन्त्रालयमा सरुवा गरेर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले छानबिन थालेको छ ।
घटनालगत्तै गाउँपालिकाको उजुरीपछि पक्राउ परेका वडा सचिव सरिता रावत, करारका सहायक सचिव रामकुमार गिरी र कार्यालय सहायक नीलप्रसाद मिश्र रिहा भएका छन् । उनीहरूविरुद्ध मुद्दा चलाए पनि प्रमाणित हुन नसकेपछि जिल्ला अदालत नुवाकोटले उनीहरूलाई धरौटीमा छाडेको हो । गिरी र मिश्र स्थानीय हुन् भने सचिव रावत एक वर्षअघि लोकसेवा उत्तीर्ण गरेर पोस्टिङ भएकी हुन् ।
अध्यक्ष तामाङसंग साझापथ डटकमले लिएको भिडियो संवाद हेर्नुस्