पुनर्कर्जा कार्यविधि–२०७७ दोस्रो संशोधन : लिक्विड अक्सिजन प्लान्टमा ५० करोडसम्म पुनर्कर्जा दिने नीति कार्यान्वयनमा
काठमाडौं,असार १३ । नेपाल राष्ट्र बैंकले लिक्विड अक्सिजन प्लान्ट स्थापनामा प्रतिग्राहक ५० करोड रुपैयाँसम्म पुनर्कर्जा सुविधा दिने नीति कार्यान्वयनमा ल्याएको छ । केन्द्रीय बैंकले शुक्रवार ‘पुनर्कर्जा कार्यविधि–२०७७’ दोस्रो संशोधन गर्दै स्वास्थ्य सेवाप्रदायक संस्था, अस्पताल वा उद्योगहरूलाई लिक्विड अक्सिजन प्लान्ट वा अक्सिजन प्लान्ट स्थापना गर्न प्रदान गरिने कर्जाको हकमा प्रतिग्राहक ऋणी रू. ५० करोडसम्म पुनर्कर्जा प्रदान गर्न यस्तो व्यवस्था गरेको हो ।
विशेष पुनर्कर्जाअन्तर्गतको उक्त सुविधामा केन्द्रीय बैंकले १ प्रतिशत ब्याजदर मात्रै लिनेछ भने बैंक तथा वित्तीय संस्थाहरूले ग्राहक ऋणीबाट ३ प्रतिशत ब्याजदर मात्रै लिनुपर्ने व्यवस्था छ । ग्राहकअनुसार मूल्यांकन गरी उपलब्ध गराउने पुनर्कर्जाको सीमा रू. २० करोडसम्मलाई निरन्तरता दिइएको छ । ग्राहकअनुसार प्रदान गरिने पुर्नकर्जा रकम कुल पुनर्कर्जा प्रदान गर्न सकिने रकमको २० प्रतिशतसम्म हुनुपर्ने व्यवस्था कार्यविधिले तोकेको छ ।
बैंक तथा वित्तीय संस्थालाई एकमुष्ट प्रदान हुने प्रतिग्राहक पुनर्कर्जाको अधिकतम सीमा रू. ५ करोड रहेको छ । कार्यविधिअनुसार यसरी एकमुष्ट प्रदान गरिने पुनर्कर्जा रकम कुल पुनर्कर्जा प्रदान गर्न सकिने रकमको ७० प्रतिशतभन्दा बढी हुने छैन ।
केन्द्रीय बैंकका प्रवक्ता देवकुमार ढकाल मौद्रिक नीतिको तेस्रो त्रैमासको समीक्षासँगै गरेको यो व्यवस्थालाई कार्यान्वयनमा ल्याएको बताउँछन् । विभिन्न कारणले समस्यामा परेका जलविद्युत् आयोजनालाई पुनर्कर्जा उपलब्ध गराउने व्यवस्था मौद्रिक नीतिको संशोधनले गरेको छ ।
निजीक्षेत्रबाट सञ्चालन भएका आर्थिक रूपले संकटग्रस्त जलविद्युत् आयोजनाका समस्या सम्बन्धमा अध्ययन गर्न गठित समितिको प्रतिवेदनले पहिचान गरेका १० मेगावाट भन्दा साना जलविद्युत् आयोजनालाई बढीमा १ वर्ष र मध्यम तथा न्यून प्रभावित क्षेत्र भनी बैंकले तोकेका ग्राहक ऋणीका लागि ६ महीनाका लागि पुनर्कर्जा दिइने उनले बताए । केन्द्रीय बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशकसमेत रहेका ढकालका अनुसार आर्थिक रूपले संकटग्रस्त जलविद्युत् आयोजनाका समस्या सम्बन्धमा अध्ययन गर्न गठित समितिको प्रतिवेदनले पहिचान गरेका ३५ ओटा आयोजनालाई यस्तो सुविधा दिइनेछ । ‘समितिले उक्त आयोजनामा समस्या रहेको निष्कर्ष निकालेको थियो । समितिले ३५ ओटा कम्पनीको सूची बनाएको छ,’ उनले अभियानसँग भने, ‘कार्यविधिमा १० मेगावाट भन्दा साना जलविद्युत् आयोजनालाई बढीमा १ वर्षसम्म पुनर्कर्जा प्रदान गर्ने व्यवस्था गरेको हो ।’ राष्ट्र बैंकले पुनर्कर्जालाई ३ भागमा वर्गीकरण गरेको छ । लघु, घरेलु तथा साना उद्यम पुनर्कर्जाअन्तर्गत उद्यमी स्वयं संलग्न भई सञ्चालन गरिएका उद्यम, व्यापार तथा व्यवसायमा प्रवाह भएको रू. १५ लाखसम्मको कर्जा सुविधाका लागि प्रदान गरिने पुनर्कर्जालाई लघु, घरेलु तथा साना उद्यम पुनर्कर्जा मानिएको छ । यो सुविधा पाएका ग्राहकबाट बैंक तथा वित्तीय संस्थाले ५ प्रतिशत मात्रै ब्याजदर लिएर पुनर्कर्जा दिनुपर्ने छ । यसपछि केन्द्रीय बैंकले २ प्रतिशत मात्रै ब्याजदर लिएर पुनर्कर्जा वितरण गर्ने गर्छ ।
बैंकले समय समयमा कुनै क्षेत्र विशेषलाई विशेष प्राथमिकता दिने गरी प्रदान गर्ने पुनर्कर्जालाई विशेष पुनर्कर्जालाई मानेको छ । यसअन्तर्गत हाल कायम रहेको निर्यात, महिला उद्यमी, फरक ढंगले सक्षम व्यक्तिले सञ्चालन गरेका उद्यम/व्यवसाय, प्राकृतिक प्रकोपबाट प्रभावित क्षेत्र, स्वास्थ्य सेवाप्रदायक संस्था, अस्पताल वा उद्योगहरूलाई लिक्विड अक्सिजन प्लान्ट तथा अक्सिजन प्लान्ट स्थापना गर्न तथा १० मेगावाटभन्दा साना जलविद्युत् आयोजनाहरू रहेका छन् ।
यसबाहेकका कर्जालाई साधारण पुनर्कर्जामा रााखएको छ । यस प्रकृतिमा पर्नेलाई ग्राहकबाट बैंक तथा वित्तीय संस्थाले ५ प्रतिशत मात्रै ब्याजदर लिएर पुनर्कर्जा दिनुपर्ने छ । यसपछि केन्द्रीय बैंकले ३ प्रतिशत मात्रै ब्याजदर लिएर पुनर्कर्जा वितरण गर्ने गर्छ । बैंक तथा वित्तीय संस्थामा पुनर्कर्जाको माग आएअनुसार अवस्था हेरेर ऋणीको सूचीअनुसार केन्द्रीय बैंकमा पेश गरेपछि एकमुष्ठ रूपमा पुनर्कर्जा दिने गर्छ । आर्थिक अभियानबाट