ट्यान्करको ठक्करबाट सप्तरीमा दुई बालिकाको ज्यान गयो



सप्तरी, असार १२ । ट्यान्करको ठक्करबाट सप्तरीमा दुई बालिकाको ज्यान गएको छ। द्रूत गतिको एक ट्र्यान्करले शनिबार सप्तरीको पूर्व–पश्चिम राजमार्गस्थित सडकमा दुई किलोमिटरको दूरीमा दुई वटा मोटरसाइकललाई ठक्कर दिँदा दुई बालिकाको ज्यान गएको हो । दुर्घटना अग्नीसाइर कृष्णसवरण गाउँपालिका–२ स्थित सितापुर र चाँदनी चौकमा भएको हो।

ज्यान गुमाउनेमा रुपनी गाउँपालिका–३ कटैयाकी विष्णुदेव प्रमाणीकी छोरी ८ वर्षीया यसोदाकुमारी प्रमाणी र कञ्चनरूप नगरपालिका–६ घोघनपुरका मो.अरन्जैबकी छोरी ७ वर्षीया सुमैया प्रविण रहेका छन् । उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

ना ७ ख ५४९५ नम्बरको ट्र्यान्करले सितापुर चाँदनी चौकमा स ११ प २५८५ नम्बरको मोटरसाइकललाई र वीरेन्द्र बजारमा स२ प ५२४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको स्थानीयवासीले बताए । दुर्घटनामा यसोदाकी आमा ३२ वर्षीया सुमनदेबी र मामा कुसुमलाल मण्डल घाइते भएका छन् । यसैगरी सुमैयाकी परिवारकी सदस्य नविया प्रबिण घाइते भएकी छिन् ।

 घाइतेहरूको कञ्चनरूप नगरपालिकाको ठेलियास्थित अस्पतलामा उपचार भइरहेको छ । मृतक परिवारलाई क्षतिपूर्ति र मनोमानी ढङ्गले सवारी साधन चलाउनेलाई कारवाहीको माग गर्दै स्थानीयवासीले सडकमै शव राखेर राजमार्ग अवरुद्ध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्