पूर्वाग्रहीले काम चल्दैन : प्रेस काउन्सिल अध्यक्ष बस्नेत
नुवाकोट,असार १२ । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले नुवाकोटका संचारकर्मीहरुसँग समस्या र चुनौती तथा काउन्सिलसँगको अपेक्षाको बिषयमा छलफल गर्नु भएको छ ।
मिडिया अनुगमनको क्रममा नुवाकोट आएका काउन्सिलका अध्यक्ष बस्नेतले आफुले काउन्सिलमा रहेर आग्रह र पूर्वाग्रहमा लागेर कार्य सम्पादन नगर्ने बताए । सञ्चार माध्यमहरुको बिकास र प्रवर्द्धनको लागी हरेक तह र तप्काबाट प्रयास गर्ने भन्दै उनले स्वस्थ, स्वच्छ र मर्यादित काउन्सिल निमार्णमा लाग्ने प्रतिवद्धता जनाएका छन् ।
अध्यक्ष बालकृष्ण बस्नेतले काउन्सिल सबै पत्रकारको साझा संस्था भएकाले हरेक पत्रकार र मिडियाको स्वामित्व हुने बताए । उनले सोसल मिडियाबाट आउने अडियो–भिडियो सामग्रीहरूमा पत्रकारिता भए–नभएकोबारे काउन्सिलले सुक्षम अध्ययन गर्दै रेकर्ड राखिएको बताए ।
सत्यतथ्य सूचना र समाचारको सम्प्रेषणबाट समाजमा सकारात्मक सञ्चार गराउन इन्टरनेटबाट दिइने सामग्रीलाई कसरी व्यवस्थित गराउने भन्ने सम्बन्धमा काउन्सिल गभ्मीर भएको उनको भनाइ छ ।काउन्सिलका सदस्य दीपक पाण्डेले काउन्सिलको काम कारबाहीको बारेमा जति बुझे पनि अपुग हुने भन्दै आफूहरूले संस्थाको गरिमा जोगाउन सहकार्य गरेर अघि बढ्ने बताएका छन् । नेपाल पत्रकार महासंघ जिल्ला शाखा नुवाकोट र नुवाकोटका सञ्चारकर्मीहरुसँग अन्तक्रिया गर्दे काउन्सिलले महामारीमा बन्द भएका पत्रिका वर्गीकरणमा छुट दिनुपर्ने, अनलाइनलाई लोककल्याणकारी विज्ञापनको लागि पहल गर्ने बताए ।