पञ्चकन्या भत्ता प्रकरण: शक्ति केन्द्रबाट अनुसन्धान प्रभावित पार्नु निन्दनीय- माओवादी
नुवाकोट,असार १० । नेकपा (माओवादी केन्द्र) पञ्चकन्याले वडा नं २ र ५ को सामाजिक सुरक्षा भत्ता चोरी तथा वितरणमा देखिएको अनियमितता सम्बन्धको अनुसन्धान शक्ति केन्द्रबाट प्रभावित पार्न खोज्नु निन्दनीय रहेको प्रतिक्रिया जनाएको छ ।
अध्यक्ष मिनबहादुर केसीले बुधबार विज्ञप्ति प्रकाशित गर्दै उक्त घटनाबारे कतिपय सञ्चारमाध्यममा प्रकाशित समाचार तथ्यहिन र घटनालाई अतिरन्जित गर्ने र अनुसन्धान तथा न्यायिक सम्पादनमा प्रभाव पार्ने खालको रहेको र शक्ति केन्द्रबाट अनुसन्धान प्रभावित पार्ने कार्य हुन नहुने बताएका हुन् । ‘कतिपय शक्ति केन्द्रबाट अनुसन्धान नै प्रभावित गरिएको खबर आएको छ, यदि त्यसो गरिएको हो भने अत्यन्त निन्दनीय छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यस्तो कार्य कतैबाट नगर्न/नगराउन हामी खबरदारी गर्न चाहन्छौं ।’
एमालेबाट निर्वाचित पञ्चकन्या २ का वडाध्यक्ष ध्रुवप्रसाद मिश्रका नातेदार गृहसचिव महेश्वर न्यौपानेले अनुसन्धानलाई प्रभावित पार्न अनुचित दबाब दिएको भन्ने खबरहरु सम्प्रेषण भएपछि माओवादी पञ्चकन्याले आफ्नो धारणा सार्वजनिक गरेको हो । सचिव न्यौपाने वडाध्यक्ष मिश्रका ‘साइँला ससुराका ज्वाइँ’ हुन् ।
घटनाको लागि नागरिक तथा राजनैतिकस्तरबाट दबाब आउनु सकारात्मक विषय भए पनि विरोधको तरिका विभिन्न हुन सक्ने भन्दै अध्यक्ष केसीले नागरिकका सेवा नै ठप्प गर्नुको साटो अन्य विरोधका कार्यक्रम तय गर्न सम्बन्धित पक्षलाई अनुरोध गरेका छन् । भत्ता प्रकरण छानबिन र सत्य तथ्य सार्वजनिक गर्न ढिलाई भएको भन्दै वडा नं २ को कार्यालयमा नेपाली कांग्रेसले ताला लगाएको छ ।
पञ्चकन्या गाउँपालिका वडा नम्बर २ मा सामाजिक सुरक्षा भत्ताको करिब ५३ लाख रूपैयाँ वडा कार्यालयमा राखेकै ठाउँबाट हराएको झण्डै ३ महिना हुन लाग्दा पनि सत्यतथ्य पत्ता लाग्न र दोषी कानुनको कठघरामा आउन सकेको छैन ।