महामारीका बीच धान रोपाइँ



काठमाडौं,असार ८ । कोरोना महामारीको भयावह अवस्थाका बीच विभिन्न जिल्लाका किसान यतिबेला धान रोपाइँमा व्यस्त छन् । मनसुन शुरू भएर पानी पर्न थालेसँगै किसानले महामारीको त्रासकै बीचमा पनि धान रोपाइँ शुरू गरेका हुन् ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार सातओटै प्रदेशका अधिकांश जिल्लाका किसान यति बेला धान रोपाइँमा व्यस्त छन् । काठमाडौं, धादिङ, मकवानपुर, कास्की, बाग्लुङ, झापा, पाँचथर, बारा, पर्सा, रौतहट, दाङ, प्युठान, नवलपरासी, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरलगायत धेरैजसो जिल्लाका किसान अहिले धान रोपाइँमा व्यस्त भइरहेका छन् ।

यस वर्ष हालसम्म कति जमीनमा धान रोपाइँ भयो भन्ने तथ्यांक मन्त्रालयले प्राप्त गरिसकेको छैन । देशभरि नै पानी परिरहेकाले अधिकांश जिल्लामा २० प्रतिशतजति रोपाइँ सकिएको अनुमान छ । गतवर्षजस्तै कोरोना महामारी रोकथाम तथा नियन्त्रण गर्न सरकारले लगाएको निषेधाज्ञाका कारण यस वर्ष पनि अधिकांश उद्योगधन्दा, व्यापार, व्यवसाय बन्द भएकाले गाउँँका बाँँझा खेतबारीहरू समेत खनजोत गरेर त्यसमा धानखेती गर्ने क्रम बढेको मन्त्रालयले बताएको छ । त्यसैले गतवर्षको भन्दा यस वर्ष धानखेती हुने क्षेत्रफल पनि करीब २० प्रतिशतले बढ्ने अनुमान गरिएको मन्त्रालयका प्रवक्ता डा. श्रीराम घिमिरेले आर्थिक अभियान दैनिकलाई बताए ।

आर्थिक वर्ष २०७६/७७ मा कुल खेतीयोग्य जमीनमध्ये १४ लाख ५८ हजार ९ सय १५ हेक्टर जमीनमा वर्षेधान खेती गरिएको मन्त्रालयको तथ्यांक छ । कोरोना महामारीका कारण भएको बन्दाबन्दीपश्चात् आव २०७७/७८ मा धानखेतीको क्षेत्रफल करीब १५ हजार हेक्टरले बढेर १४ लाख ७३ हजार ९ सय १५ हेक्टर पुगेको थियो । नेपालमा करीब ३१ लाख हेक्टर जमीन कृषिका लागि योग्य रहेको मानिन्छ ।

त्यसमध्ये कति जमीन बाँझो छ भन्ने कुराको यकिन तथ्यांक सरकारसँग नभए पनि गाउँबाट शहरतर्पmको बसाइँसराइ, वैदेशिक रोजगारीमा युवाहरूको आकर्षण, सिँचाइको अभाव, उत्पादनमा ह्रासजस्ता कारणले जमीन बाँझो रहने गरेको बताइन्छ । ६० प्रतिशतभन्दा बढी धान रोपाइँ हुने जमीन वर्षे पानीमा निर्भर रहने भएकाले उत्पादनको मुख्य योगदान मनसुनी प्रवृत्तिलाई नै मान्ने गरिएको सरोकारवालाहरू बताउँछन् ।

रोपाइँका लागि मल अभाव नहुने दाबी
गतवर्ष धान रोपाइँकै बेला रासायनिक मलको हाहाकार हुँदा धेरैजसो जिल्लाका कृषकले मलको अभाव भोग्नु परेको थियो । तर, यो वर्ष सरकारसँग रासायनिक मलको पर्याप्त मौज्दात रहेको र आयातमा पनि कुनै समस्या नभएकाले मलको अभाव नहुने दाबी सरकारको छ ।

कृषि सामग्री कम्पनी लिमिटेडका प्रवक्ता विष्णुप्रसाद पोखरेलका अनुसार मलको आयात सहज रूपमा भइरहेको छ भने मौज्दात पनि पर्याप्त मात्रामा रहेको छ । कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङसँग अहिले करीब ८० हजार मेट्रिकटन रासायनिक मल मौज्दात रहेको छ । निषेधाज्ञाका कारण विभिन्न जिल्लाहरूमा मलको वितरणमा समस्या देखिएकाले किसानले मल नपाएको गुनासो आएको भए पनि हाल उक्त समस्या समाधान भइसकेको पनि उनले बताए । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्