अर्थतन्त्रमा साना तथा घरेलु व्यवसायको योगदान उच्च : गभर्नर अधिकारी



काठमाडौं,असार ८ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले साना तथा घरेलु व्यवसायको योगदान समग्र अर्थतन्त्रमा धेरै महत्वपूर्ण रहेको बताएका छन्  ।    

नेपाल घरेलु तथा साना उद्योग महासंघका पदाधिकारीसँग सामोवार वेबिनारमार्फत आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा उनले संसारभरी नै साना तथा मझौला उद्योगको भूमिका हेर्ने हो भने संख्यात्मक हिसाबले पनि महत्वपूर्ण रहेको र अर्थतन्त्रमा योगदान पनि धेरै अर्थपूर्ण रहेको बताए ।     
     
नेपाल राष्ट्र बैंकले पनि आफ्नो आफ्ना नीतिमा यस क्षेत्रलाई प्राथमिकता राख्दै आएको र चालू आवकोे मौद्रिक नीतिमार्फत ऐतिहासिक परिवर्तन नै ल्याउन खोजेको बताए ।    

सहुलियतपूर्ण कर्जा पनि प्रत्येक शाखामा १० ओटा आवेदन आउनुपर्ने र सँगसँगै कुल कर्जाको १५ प्रतिशत अर्थात् १ करोड रुपैयाँभन्दा साना कर्जामा जानुपर्ने व्यवस्था यस क्षेत्रलाई गरिएको उनको भनाइ थियो ।     

सो अवसरमा महासंघका अध्यक्ष श्याम गिरीले उद्योगीले लिएको कर्जामा निषेधाज्ञा अवधिको ब्याज मिनाहा गर्न माग गरेका थिए । साना उद्योगीको हकमा पुनर्कर्जा सम्बन्धी कार्यविधिलाई पुर्नलेखन गर्नुपर्ने जरुरी रहेको भन्दै उनले पुनर्कर्जा कार्यविधि पुनैलेखन कार्यमा घरेलु महासंघलाई पनि सहभागी गराइनुपर्ने बताए । सो अवसरमा महासंघका निवर्तमान अध्यक्ष सुरेश प्रधान, पूर्व अध्यक्ष लता प्याकुरेल, वरिष्ठ उपाध्यक्ष उमेशप्रसाद सिँहलगायतले साना तथा मझौला उद्योगको विकासमा विशेष ध्यान दिन आग्रह गरेका थिए ।

कार्यक्रममा बैंकका डेपुटी गर्भनरद्वय बमबहादुर मिश्र, डा निलम तिमिल्सिना, प्रवक्ता देवकुमार ढकाललगायत विभिन्न विभागीय प्रमुखहरुको पनि सहभागिता थियो ।आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्