खाने तेलको मूल्य घट्यो



काठमाडौ,असार ७ । पछिल्लो एक साताबीचमा खाने तेलको मूल्य प्रतिलिटरमा २० देखि २५ रुपियाँ घटेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमन बढाएका कारण मूल्य घटेको दाबी गरेको छ ।महानिर्देशक पौडेलले तेल उद्योगी उत्पादक उद्योगमै पुगेर कच्चा तेलदेखि उत्पादन लागतसम्मको अनुगमन गरेर तेलको भाउ घटाउन सफल भएको दाबी गर्नुभयो ।विभागले विभागका महानिर्देशक प्रकाश पौडेलकै नेतृत्वमा विभागका अनुगमन संयोजक संलग्न टोलीले देशका विभिन्न ठाउँमा सञ्चालित तेल उद्योगमा अनुगमन गरेको थियो ।

नेपाल खुद्रा व्यापार सङ्घका अनुसार बजारमा भटमासको तेल प्रतिलिटर २७० रुपियाँ र सूर्यमुखीको तेल (सनफ्लो) प्रतिलिटर २७५ रुपियाँमा कारोबार हुँदै आएको छ । सनफ्लावर धारा हेल्थ प्रतिलिटर २७० रुपियाँ पुगेको छ । यस्तै तोरीको तेल प्रतिलिटर ३२० रुपियाँमा कारोबार हुँदै आएको छ । यो मूल्यमा अहिले भने प्रतिलिटरमा २० देखि २५ रुपियाँ घटेको छ ।बजारमा तेलको भाउ घटेको हल्ला चले पनि आमउपभोक्ताले घटेको मूल्यको महसुस गर्न भने नपाएको उपभोक्ता अधिकारकर्मीको भनाइ छ । उपभोक्ता अधिकार तथा अनुसन्धान मञ्चका अध्यक्ष माधव तिम्लिसिनाले उद्योगमा मात्रै मूल्य घटेर उपभोक्ताले त्यसको लाभ लिन नपाउने भएकाले तेलका अन्य लियरमा पनि अनुगमन हुनुपर्ने बताउनुभयो ।विभागले उद्योगमा तेलको भाउ घट्यो भनेर मात्रै नहुने भन्दै उहाँले थप्नुभयोे, “खाने तेलका अन्य लियर डिलर, थोक बिक्रेता, खुद्रा बिक्रेता हुँदै उपभोक्ताको भान्सासम्म आइपुग्दा घटेको हुनुप¥यो, त्यो त हुन सकेको छैन । ”घिउ–तेल उत्पादक उद्योगीहरू तेलको मूल्य घट्नुमा कच्चा पदार्थको मूल्य घट्नु र तेलको माग घट्नु मुख्य कारण रहेको दाबी गर्दै आएका छन् । वनस्पति घिउ–तेल उत्पादन सङ्घका अध्यक्ष सन्दीपकुमार अग्रवालले पछिल्लो एक सातामा खाने तेलको मूल्य घट्नुको मुख्य कारण खाने तेलको माग र खपतमा ह्रास आउनु रहेको बताउनुभयो ।

“उद्योगबाट तेलको मूल्य घटेर आएपछि घटे वा नघटेको विषयमा त सम्बन्धित सरोकारवाला निकायले अनुगमन गरेर घटेको मूल्य नघटाउने व्यापारीलाई कारबाही गर्नुपर्यो नि,” उहाँले थप्नुभयो । सङ्घका अनुसार तेलका लागि आवश्यक कच्चा पदार्थ सोयाबिन अर्जेन्टिना, ब्राजिलबाट र पाम तेल इन्डोनेसिया र मलेसियाबाट ल्याउने गरिन्छ भने सूर्यमुखी (सनफ्लावर) तेल युक्रेन र अर्जेन्टिनाबाट आयात गरेर प्याकेजिङ गरिन्छ ।गोरखापत्रबाट

प्रतिक्रिया दिनुहोस्