मस्र्याङ्दी नदी थुनियो, जोखिम झन् बढ्यो
मनाङ,असार ५ । पहिरोले मनाङको सदरमुकाम चामे भएर बग्ने मर्स्याङ्दी नदी थुनिएको छ। नदी थुनिँदा चामे बजार नै जोखिममा परेको छ।
चामे गाउँपालिका वडा नं. ४ र ५ जोड्ने मर्स्याङ्दी नदीमा पहिरो खस्दा पूर्ण रूपमा थुनिएको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताए। मर्स्याङ्दी नदी थुनिँदा चामे बजार जाने ठूलो पुल जोखिममा रहेको उनले जानकारी दिए।
प्रमुख जिल्ला अधिकारी लामिछानेले भने, “अहिले यहाँ निरन्तर वर्षा भइरहेको छ, चामे बजार जाने ठूलो पुल नजिक पहिरो खस्दा मर्स्याङ्दी नदी थुनिएको छ।”
नदी थुनिँदा पानीको सतह झन्झन् बढ्दै गएको उनले बताए। पानी निकास नभएकाले जोखिम बढेको उनको भनाइ छ। चामे बजार क्षेत्र हुँदै झरेको घट्टेखोलाले ढुङ्गामाटो र काठदाउरा बगाएर ल्याएपछि नदी थुनिएको प्रमुख जिल्ला अधिकारी लामिछानेले बताए।