त्रिशूली अस्पतालमा निःशुल्क मिर्गौला डायलसिस सेवा सञ्चालन हुने



नुवाकोट,असार २ । नुवाकोटको त्रिशूली अस्पतालमा निःशुल्क मिर्गौला डायलसिस सेवा सञ्चालन हुने भएको छ ।

वाग्मती प्रदेश सरकारले आ.व. २०७८/७९ को वार्षिक बजेटमार्फत रकम सुनिश्चित गरेकोले उक्त सेवा सञ्चालन हुने पक्का भएको हो । नुवाकोटबाट निर्वाचित संघ र प्रदेश सभाका सांसदहरुको विशेष मागबमोजिम उक्त सेवा संचालन गर्न प्रदेश सरकारले बजेटको व्यवस्था गरेको हो ।

नुवाकोट, रसुवा र पूर्वी उत्तर धादिङका जनताले प्रत्यक्ष सेवा लिने उक्त अस्पतालमा जनप्रतिनिधिहरुकै पहलमा चालु आर्थिक वर्षमा भेन्टिलेटरसहितको आईसीयु सेवा र पीसीआर परीक्षण सेवा संचालनमा आइसकेका छन् । अरु थुप्रै आवश्यक्ताहरु भए तापनि तत्काल प्रमुख सेवाहरु पूरा गर्दै गएको वाग्मती प्रदेशका उपसभामुख एवं नुवाकोट प्रदेश सांसद राधिका तामाङले बताइन् । उनका अनुसार अर्को आवश्यकता सिटी स्क्यान सेवा रहेको भन्दै उपसभामुख तामाङले सिटी स्क्यानको लागि पनि पहल गरिरहेको बताइन् ।

नुवाकोट, रसुवा र धादिङका जनतालाई स्वास्थ्य सेवा प्रवाह गर्नुका साथै राजधानी काठमाडौंमा हुने चापलाई समेत घटाउने काम त्रिशूली अस्पतालले गरेको भन्दै उपसभामुख तामाङले यस अस्पतालको विकास र स्तरोन्नतीमा विशेष पहल गरिरहेको बताइन् । अरु सबै काम यहीं भएर पनि सिटी स्क्यानको लागि मात्र काठमाडौं जानु पर्दा बिरामीले धेरै दुःख झेल्नु परेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष अर्जुनप्रसाद न्यौपानेको गुनासो व्यक्त गरे ।

डायलसिस सेवाका लागि प्रदेश सरकारले बजेट व्यवस्था गरेकोमा खुसी प्रकट गर्दै उनले अबको प्राथमिकतामा सिटी स्क्यान सेवाको लागि पनि व्यवस्था हुने आशा व्यक्त गरे ।

त्रिशूली अस्पतालले प्रसूति, बालरोग, हाडजोर्नी, सर्जरी, दन्त, फिजियोथेरापी लगायतका विशेषज्ञ सेवासहित स्वास्थ्य सेवा सञ्चालन गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्