महासंघ प्रतिनिधिमण्डलले भेट्यो स्वास्थ्यमन्त्री



अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएको वर्गलाई खोपमा प्राथमिकता दिन माग

काठमाडौं,असार २ । नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालसहितको प्रतिनिधिमण्डलले स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङसँग भेट गरेको छ ।

भेटमा अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएका उद्यमी व्यवसायी, श्रमिक, कामदार, कर्मचारीलाई पहिलो प्राथमिकतामा राखेर कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउन माग गरिएको महासंघले बताएको छ । महासंघका तर्फबाट समग्र अर्थतन्त्रलाई चलायमान बनाउन निजी क्षेत्रका उद्यमी व्यवसायीले निषेधाज्ञाको समय अग्र भागमा रहेर उपभोग्य वस्तुको निर्वाध उत्पादन र वितरणका लागि काम गरिरहेकाले यो क्षेत्रलाई पहिलो प्राथमिकतामा राख्न स्वास्थ्यमन्त्रीलाई आग्रह गरिएको थियो । जीर्ण भएको अर्थतन्त्रको चक्का चलाउन, अर्थतन्त्रलाई लयमा फर्काउन र सरकारका आर्थिक लक्ष्यलाई पूरा गर्नसमेत यो वर्गलाई खोपमा पहिलो प्राथमिकतामा राख्न अध्यक्ष गोल्छाले मन्त्रीसँग आग्रह गरे ।

‘महासंघका सदस्य जिल्ला÷नगर उद्योग वाणिज्य संघहरू, वस्तुगत र द्विराष्ट्रिय उद्योग वाणिज्य संघहरू र एसोसिएटअन्तर्गतका सबैलाई अबको प्राथमिकतामा खोप दिने व्यवस्था मिलाइयोस्’, अध्यक्ष गोल्छाले भने ।  

कोभिड–१९ को महामारी नियन्त्रणका लागि जारी निषेधाज्ञामा पनि उद्यमी व्यवसायीले निर्वाध उत्पादन र आपूर्ति व्यवस्थापनमा काम गरिरहेको, संकटको घडीमा निजी क्षेत्रको संघीय प्रतिनिधिमूलक संस्था महासंघ एवं यसको सिंगो सञ्जाल नै आपूर्ति व्यवस्थापन, महामारी नियन्त्रण, स्वास्थ्य पूर्वाधार निर्माणसहित राहत सेवा प्रदान गर्न खटिरहेको र आगामी दिनमा पनि क्रियाशील रहने प्रतिबद्धता महासंघ अध्यक्ष गोल्छाले व्यक्त गरे ।

उक्त अवसरमा मन्त्री तामाङले अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएका उद्यमी व्यवसायी र यस क्षेत्रमा कार्यरत सम्पूर्ण कामदार, कर्मचारीलाई पहिलो प्राथमिकतामा राखेर कोभिडविरुद्धको खोप उपलव्ध गराउने प्रतिबद्धता जनाएको महासंघले बताएको छ ।

कोभिडले समग्र अर्थतन्त्र नै जर्जर बनाएकाले यसलाई तत्काल तंग्रिने वातावरण बनाउन यस क्षेत्रमा जोडिएका सबैलाई खोप दिने सोचाइमा सरकार रहेको स्वास्थ्यमन्त्रीले जानकारी दिए ।

उद्योग व्यवसायसँग प्रत्यक्ष जोडिएको जनशक्तिलाई खोप लगाउन प्राथमिकता दिने प्रतिबद्धता मन्त्री तामाङले व्यक्त गरेको महासंघले बताएको छ ।आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्