वर्षासंगै गुर्जे-छहरे सडक अस्तव्यस्त, कहिले सकिएला सिस्नेरी भीर कटिङ? [भिडियो]



कटिङको क्रममा सिस्नेरी भीर

नुवाकोट,असार १ । काठमाडौदेखि नुवाकोट प्रवेश मार्ग गुर्जे-छहरे सडकखण्ड वर्षासंगै अस्तव्यस्त सुरु भएको छ। कतिपय ठाउँमा सडक ढलान र ड्रेन तथा नाली निर्माण कार्य जारी रहेकाले सडक क्षेत्र अस्तव्यस्त भएको हो । सडकखण्डको हाल चापको बोट क्षेत्र, बोहोरे खोला क्षेत्र, पाङ्ग्रे दोबाटे क्षेत्र हिलाम्मे भएपछि सवारी आवागमनमा समेत कठिनाइ भएको स्थानीयले गुनासो गरेका छन् ।

सडक डिभिजन कार्यालय नुवाकोटका इन्जिनियर श्यामकुमार चौधरीका अनुसार कतिपय क्षेत्रमा सडक बढाउने काम भैरहेको अवस्थामा तत्काल सडक नखन्ने सरकारी नितिका कारण समेत सडक विस्तार तथा स्तरोन्नतिमा समस्या आएको हो। इन्जिनियर चौधरीले साझापथसंग कुरा गर्दै भने- ‘अहिले सडक क्षेत्रका विभिन्न स्थानमा छुट्टाछुट्टै कम्पनी तथा ठेकेदारका काम भैरहेकाले सडकले गति लिन केहि समय लाग्छ ।’

यता गत चैत ५ गतेदेखि सडक डिभिजन मार्फत भीर सडक खण्ड स्तरोन्नति तथा निर्माणको अनुमति पाएको सिसन निर्माण कम्पनीले झण्डै ३ महिना बित्दा समेत कामलाई पुर्णता नदिएसंगै सर्वसाधारणले आवतजावतमा सास्ती व्यहोर्नुपरेको स्थानीयहरु बताउँछन् । निर्माण कार्य अवधिमा वैकल्पिक मार्गको रुपमा तयार पारिएको चापाबोट सुनखानी हुँदै ढलानघर निस्कने बाटो समेत पछिल्लो वर्षाले बिगारिदिएपछि सर्वसाधारण थप मारमा परेको स्थानीय शिक्षक अर्जुन तामाङ बताउँछन् । शिक्षक तामाङ भन्छन् – ‘ओहोरदोहोर गर्दा चट्टान खस्ने डर र अनियमित जाममा फस्नुपर्ने भएकोले यस सडकखण्डमा यात्रा थप सकसपुर्ण हुने गरेको छ।’

चट्टानी भीर खसाल्न निर्माण सेवाले सोचे अनुरुप नभएकाले निर्माणमा समय लागेको सेवा प्रालिका प्रबन्धक निर्देशक जीवन दाहालले बताए। निर्माणका सुरुवाती समयदेखि विभिन्न बाधा अड्चन व्यहोर्नुपरेको बताउदै दाहालले भने- ‘कहिले निकुञ्जको समस्या, कहिले स्थानीयको अवरोधले आफुहरुलाई आजित बनायो, यद्यपि अब केहि सातामा भीर र सडक लेभल कटिङ सक्ने लक्ष्य छ।’

हेर्नुस् भिडियो रिपोर्ट:-

प्रतिक्रिया दिनुहोस्