१७ जिल्लामा निषेधाज्ञाको समय थप



काठमाडौं, असार १। कोरोना नियन्त्रणका लागि काठमाडौँ उपत्यकाका तीन जिल्लासमेत देशका १७ वटा जिल्लामा जारी निषेधाज्ञा असार ७ गतेसम्मका लागि विस्तार गरिएको छ । कतिपय जिल्लामा उपत्यकाको तुलनामा धेरै सेवामा खुकुलो बनाइएको छ ।

थपिएका १७ जिल्लाबाहेक कतिपय जिल्लामा यसअघि लगाइएको निषेधाज्ञाको समयसीमा असारसम्मै कायम छ । ती १७ जिल्लामा भने जेठ मसान्तको राति १२ बजे निषेधाज्ञाको समय सकिएपछि खुकुलो प्रावधानसहित नयाँ व्यवस्था गरिएको हो ।

गृह मन्त्रालयका अनुसार काठमाडौँ, ललितपुर र भक्तपुरका साथै बागलुङ, डडेलधुरा, उदयपुर, कालीकोट, स्याङ्जा, कपिलवस्तु, ताप्लेजुङ, पूर्वी नवलपरासी, तनहुँ, बारा, इलाम, अछाम, पाँचथर र मुस्ताङमा असार ७ सम्मका लागि निषेधाज्ञा लम्ब्याइएको छ ।

सरकारले कोभिड–१९ सङ्क्रमण महामारी रोकथाम तथा नियन्त्रण व्यवस्थापनका लागि काठमाडौँ उपत्यकालगायत तराईका जिल्लाहरूमा पाँच सय र पहाडी जिल्लाहरूमा दुई सय सङ्क्रमित फेला परेमा निषेधाज्ञा जारी गर्न निर्देशन दिएको थियो ।

सोही निर्देशनअनुसार ७७ जिल्लामध्ये ७५ जिल्लामा वैशाख १३ बाट क्रमशः निषेधाज्ञा जारी गरिएको हो । केही पहाडी जिल्लामा खाद्य तथा किराना र कपडा पसलहरू साँझ र बिहान खोल्न, विकास–निर्माण तथा भवन निमार्ण कार्य नियमित सुचारु गर्न निर्देशन दिइएको छ । अधिकांश जिल्लामा रोपाइँ सुरु भएकाले कृषिजन्य वस्तु तथा सामग्री आपूर्तिमा सहजीकरण गरिएको छ ।

दार्चुलामा असार १०, पर्सामा ६, गोरखामा ५, चितवनमा ३, रामेछाप २, हुम्ला २, धनकुटा ३ र भोजपुरमा २ गतेसम्म यसअघि लगाइएको निषेधाज्ञा कायमै छ । ती जिल्लाहरूमा पनि एक साता थपेर निषेधाज्ञा लम्ब्याएर सार्वजनिक सेवा खुकुलो बनाइने योजना छ ।

यो समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्