शोधनान्तर बचत संकुचन हुँदै
काठमाडौं,असार १ । पछिल्लो समय विप्रेषण बढ्दा पनि शोधनान्तर बचत क्रमशः संकुचन हुन थालेको छ । चालू आर्थिक वर्षको १० महीनासम्ममा विप्रेषण आप्रवाह १९ दशमलव २ प्रतिशतले वृद्धि भई रू. ८ खर्ब ९ अर्ब ८९ करोड पुगेको छ । गत आवको सोही अवधिमा विप्रेषण आप्रवाह ६ दशमलव ३ प्रतिशतले घटेको थियो । नेपाल राष्ट्र बैंकले सोमवार सार्वजनिक गरेको मुलुकको आर्थिक तथा वित्तीय प्रतिवेदनले यस्तो देखाएको हो ।
गत आवमा विश्वभर कोभिड महामारीको संक्रमण बढेको थियो । तर, यसपटक केही मुलुकमा संक्रमण नियन्त्रणमा आएकाले पनि विप्रेषण बढेको हो । चालू आवको चैतको तुलनामा वैशाखमा ८० अर्ब ६९ करोड विप्रेषण थपिएको छ । गत चैतमा विप्रेषण आप्रवाह १६ दशमलव ५ प्रतिशतले वृद्धि भई रू.७९ अर्ब २ करोड पुगेको थियो ।
नेपाल भित्रिने विदेशी मुद्रा बढ्दा शोधनान्तर स्थिति गत आवको सोही अवधि र गत महीनाको तुलनामा कम भएको देखिन्छ । अमेरिकी डलरमा गतवर्षको सोही अवधिमा १ अर्ब १ करोडले बचतमा रहेको शोधनान्तर स्थिति थियो ।
देशभित्र भित्रिने रकमभन्दा बाहिरिने रकम बढेमा शोधनान्तरमा चाप पर्न जान्छ । नेपाल भित्रिने विप्रेषण बढ्दा पनि नेपालमा आयात बढेकाले विदेशी मुद्रा बढी बाहिरिएका कारण अहिले शोधनान्तर बचतमा कमी आएको हो । यस्तो बचत क्रमश संकुचन हुन थालेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।
बचतमा संकुचन आइरहे पनि चालू आवमा खासै समस्या नपर्ने राष्ट्र बैंकको भनाइ छ । केन्द्रीय बैंकका अनुसार करीब २ वर्षसम्म ठप्प रहेको आर्थिक गतिविधि बढाउन आयात गर्नुपर्ने हुँदा आयातको आकार बढ्ने सम्भावना देखिन्छ ।
अहिले १० महीनामा कुल वस्तु आयात २२ दशमलव ३ प्रतिशतले वृद्धि भई रू.१२ खर्ब ५४ अर्ब ११ करोड पुगेको छ । गत आव सोही अवधिमा यस्तो आयात १३ प्रतिशतले घटेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः २९ दशमलव ८ प्रतिशत, १७ दशमलव २ प्रतिशत र ६ दशमलव २ प्रतिशतले वृद्धि भएको छ । राष्ट्र बैंकका अनुसार वस्तुगत आधारमा यातायातका साधन तथा पार्टपुर्जा, कच्चा सोयाविन तेल, एमएस बिलेट, चामल, दूरसञ्चारका उपकरण तथा पार्टपुर्जालगायत वस्तु आयात बढेको छ । हवाईजहाजका पार्टपुर्जा, कच्चा पाम तेल, पेट्रोलियम पदार्थ, भिडियो, टेलिभिजन तथा पार्टपुर्जा, चाँदीलगायत वस्तुको आयात घटेको छ ।
कुल वस्तु निर्यात ३२ दशमलव २ प्रतिशतले वृद्धि भई रू.१ खर्ब ८ अर्ब ४८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ४ दशमलव ५ प्रतिशतले मात्र वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ क्रमशः ३५ दशमलव ८ प्रतिशत र २५ दशमलव ३ प्रतिशतले निर्यात वृद्धि भएको छ । चीनतर्फको निर्यातमा १८ दशमलव ४ प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा सोयाविन तेल, अलैंची, जुटका सामान, धागो (पोलिस्टर तथा अन्य), ऊनी गलैंचालगायत वस्तुको निर्यात बढेको छ । पाम तेल, दाल, जस्तापाता, तार, चोकरलगायत वस्तुको निर्यात घटेको राष्ट्र बैंकले जानकारी दिएको छ ।
यसरी निर्यातभन्दा आयात बढ्दा चालू खातामा पनि दबाब परेको छ । तर, यो नेपालजस्तो मुलुकमा स्वाभाविक भएको अर्थविद्हरूको भनाइ छ ।
चालू आवको वैशाखसम्ममा चालू खाता रू. २ खर्ब ४७ अर्ब ८ करोडले घाटामा रहेको छ । गतवर्षको सोही अवधिमा चालू खाता रू. ९६ अर्ब १८ करोडले घाटामा रहेको थियो ।
व्यापारघाटा रू.११ खर्ब ४५ अर्ब
आर्थिक वर्ष २०७७/७८ को १० महीनामा कुल वस्तु व्यापारघाटा २१ दशमलव ५ प्रतिशतले वृद्धि भई रू.११ खर्ब ४५ अर्ब ६३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १४ दशमलव २ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ८ दशमलव ६ प्रतिशत पुगेको छ ।
भ्रमण आय ८९ प्रतिशतले घट्यो
सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय ८९ दशमलव २ प्रतिशतले कमी आई रू. ६ अर्ब २० करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रू. ५७ अर्ब ५७ करोड रहेको थियो । नेपालीहरू विदेश भ्रमणमा गर्ने खर्च पनि ४२ दशमलव ३ प्रतिशतले कमी आई रू. २९ अर्ब ४९ करोड कायम भएको छ । यसमध्ये शिक्षातर्फको व्यय रू. २२ अर्ब ५१ करोड रहेको छ । गतवर्षको सोही अवधिमा भ्रमण व्यय रू. ५१ अर्ब ७ करोड रहेकोमा शिक्षातर्फको व्यय रू. २४ अर्ब ८२ करोड रहेको थियो ।
केन्द्रीय बैंकले कम्तीमा ७ महीनाको वस्तु तथा सेवाको आयात धान्न पर्याप्त हुने विदेशी विनिमय सञ्चिति कायम गर्ने लक्ष्य लिएको छ । तर, वैशाखसम्ममा ११ महीनाभन्दा बढीलाई पुग्ने सञ्चिति कायम रहेको छ । १० महीनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ११ दशमलव ४ महीनाको वस्तु आयात र १० दशमलव ३ महीनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।
२०७७ असार मसान्तमा रू. १४ खर्ब १ अर्ब ८४ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति शून्य दशमलव ८ प्रतिशतले कमी आई २०७८ वैशाख मसान्तमा रू. १३ खर्ब ९० अर्ब ८४ करोड कायम भएको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ वैशाख मसान्तमा १ दशमलव ९ प्रतिशतले वृद्धि भई ११ अर्ब ८७ करोड पुगेको छ ।
घ्यूतेल र माछामासुको मूल्य बढ्यो
समग्रमा उपभोक्ता मूल्यवृद्धि (मुद्रास्फीति) मा नियन्त्रण आए पनि दैनिक जीवनमा प्रयोग हुने घ्यूतेल, माछामासु भने महँगिएको छ । २०७८ वैशाखमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति लक्ष्यभन्दा कम अर्थात् ३ दशमलव ६५ प्रतिशत रहेको छ । गत आवको सोही महीनामा यस्तो मुद्रास्फीति ५ दशमलव ८३ प्रतिशत रहेको थियो । समग्रमा मूल्यवृद्धि ७ प्रतिशतको सीमामा राखिएअनुसार यसभित्रै छ । तर, यसअवधिमा घ्यू तथा तेल २८ दशमलव २० प्रतिशत, मासु तथा माछा १७ दशमलव १२ प्रतिशत, गैरमदिराजस्ता पेय पदार्थको ९ दशमलव ८५ प्रतिशत र सुर्तीजन्य पदार्थको मूल्य वृद्धि ९ दशमलव ८४ प्रतिशतले बढेको छ ।
अर्थविद् डिल्लीराज खनाल उपभोग्य उत्पादनलाई मागको आधारमा आपूर्ति बढाउन उत्पादनलाई जोड दिन जरुरी भएको बताउँछन् । उनका अनुसार कतिपय उपभोग्य वस्तुमा आत्मनिर्भरता बढाउनुपर्छ । ‘तत्कालीन अवस्थामा कोभिडले गर्दा थप प्रतिकूलता आएको हुनसक्छ । उत्पादन र बजारीकरणमा जान जरुरी छ,’ उनले अभियानसँग भने, ‘कृषकको उत्पादन बजारसम्म ल्याउँदा बीचमा मध्यस्तकर्ताले धेरै खान नपाउने गरी व्यवसायीकरण जरुरी छ ।’ आर्थिक अभियानबाट