प्यूठानमा लकडाउनको स्वरुप फेरियो
प्युठान,जेठ ३१ । जिल्लामा लकडाउनको स्वरुप फेरिएको छ। असार १ गतेदेखि दैनिक ५ घण्टा व्यापारिक प्रतिष्ठानहरु संचालन हुने भएका छन्।
जिल्ला कोभिड -१९ संकट व्यवस्थापन केन्द्रको सोमबार बसेको बैठकले असार १० गतेसम्म बन्दाबन्दि कायम राख्दै विहान ७ देखि १० बजेसम्म र साँझ ४ देखि ५ बजेसम्म होटल रेस्टुरेन्ट बाहेकका सबैखाले पसल तथा व्यवसायहरु संचालन गर्नदिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी दिए। जनस्वास्थ्यका मापदण्डहरु अनिवार्य रुपमा पालना गर्न गराउन प्रशासन कार्यालयबाट अनुगमन भैरहने भुसालले बताए।
‘जनस्वास्थ्य मापदण्ड विपरीत सेवा संचालन गरे वा गराइएमा कोभिड -१९ संकट व्यवस्थापन अध्यादेश २०७८ तथा प्रचलित कानुन बमोजिम कारवाही गर्ने छौं।’ प्रमुख जिल्ला अधिकारी भुसालले भने।
जिल्ला स्थित सरकारी तथा गैर सरकारी कार्यालयहरुमा प्रशासनिक कार्य बाहेकका अन्य सेवाहरु हाललाई स्थगित गर्ने निर्णय गरिएको छ।
बैंक तथा वित्तीय संस्था खुला राख्दै गाउँमा वित्तीय संस्थाको नाममा बचत तथा ऋण समुहको जमघट गर्न नपाइने भएको छ। बाहिरी जिल्लाबाट हुने प्रवेशलाई रोक लगाउने तथा निजी तथा सार्वजनिक यातायात हाललाई बन्द गर्ने निर्णय लिईएको जिल्ला प्रशासन कार्यालय प्यूठानले जनाएको छ।