नेपालको राजनीतिमा विदेशी शक्तिको हस्तक्षेप हुन नदिन पाँच पूर्व प्रधानमन्त्रीको अपिल
काठमाडौं,जेठ २९ । नेपालका पाँच पूर्वप्रधानमन्त्रीले आन्तरिक राजनीतिमा बाह्य चलखेल हुन दिन नहुने बताएका छन् । पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र डा. बाबुराम भट्टराईले शनिबार साँझ संयुक्त वक्तव्य जारी गर्दै नेपालको बारेमा नेपालीले नै निर्णय गर्नुपर्ने बताए ।
संवैधानिक व्यवस्था, कानूनी राज्य र लोकतन्त्रका आधारभूत सिद्धान्त एवं मूल्यमाथि भइरहेको निरंकुश हमलाविरुद्ध ऐक्यवद्धता जनाउन जनता, नागरिक समाज र लोकतन्त्रवादी शक्तिहरुलाई उनीहरुले अपील गरेका छन् ।
पाँचपूर्व प्रधानमन्त्रीले ढुंगा–गिटी विदेश निर्यात गर्ने निर्णय राष्ट्रहित विपरित र जनविरोधी भएको भन्दै फिर्ता लिन सरकारसँग आग्रह गरेका छन् ।
विशेषतः चुरे र महाभारत शृंखलामा हुने यस्तो उत्खननबाट जंगल विनाश हुने र पानीका मुहानहरु सुक्ने तथा तराई क्षेत्रमा मरुभूमिकरण हुने स्थिति उत्पन्न हुने भन्दै यो निर्णय कार्यान्वयन गर्न नहुने पूर्वप्रधानमन्त्रीहरुको भनाइ छ ।