नुवाकोट शिवपुरीका किसानलाई ट्याक्टर वितरण
नुवाकोट,जेठ २९ । पछिल्लो समय आधुनिक कृषिसामग्री र प्रविधि तर्फ अभ्यस्त हुन थालेका नुवाकोट शिवपुरीका किसानलाई गाउँपालिकाले ट्याक्टर वितरण गरेको छ ।गाउँपालिकाले शुक्रबार आफ्नो सेवा क्षेत्रका किसानलाई ट्र्याक्टर वितरण गरेको हो । गाउँपालिकाको आर्थिक सहयोगमा २५ वटा ट्याक्टर र ३ वटा थ्रेसर वितरण गरिएको गाउँपालिकास्थित कृषि शाखाका उज्ज्वल थपलियाले बताए । ट्याक्टर वितरण कार्यक्रममा गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापा र उपाध्यक्ष मन्जु केसीको समेत उपस्थिति रहेको थियोे ।
गाउँपालिकामा पछिल्लो समय आधुनिक जीवनशैली र वैदेशिक रोजगारीका कारण कृषिकर्ममा प्रभाव पर्न थालेपछि ट्याक्टरको अधिक प्रयोग हुन थालेको किसानहरुको ठहर छ । उनीहरू ट्याक्टरले खेतीबाली लगाउने, माटो धुल्याउने काममा निकै सजिलो हुने भएकाले प्रविधि तर्फ आकर्षक बढेको बताउँछन् ।
यस अघि जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई नुवाकोटले १ सय ५६ वटा ट्याक्टर वितरण गरेको थियोे । किसानहरुको बढ्दो मागलाई ध्यानमा राख्दै कतिपय गाउँपालिकाले भने आफैले ट्याक्टर खरिद गरि किसानलाई वितरण गर्दै आइरहेको छ ।