अपांगतामैत्री वित्तीय सेवाका लागि थप नीतिगत व्यवस्थामा सरोकारवालाहरुको जोड
काठमाडौं,जेठ २९ । वित्तीय सेवालाई अपांगतामैत्री बनाउँनका लागि स्पष्ट नीतिगत व्यवस्थामा सरोकारवालाहरुले जोड दिएका छन् ।
शुक्रवार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को आयोजना तथा नेपाल नेत्रविहीन संघको समन्वयमा भएको अपांगतामैत्री वित्तीय सेवा विषयक अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले अपांगतामैत्री वित्तीय सेवाका लागि थप नीतिगत व्यवस्थामा जोड दिएका हुन् ।
नेपालको संविधानले नै सबै नेपाली नागरिकलाई समान सेवा सुविधाको व्यवस्था गरेको भएपनि नेत्रविहीनहरुले बैंक तथा वित्तीय संस्थासँगै शेयर कारोबारका लागि समान सेवा सुविधा नपाएको गुनासो गरेका छन् । नेपाल नेत्रविहीन संघका उपाध्यक्ष खोमराज शर्माले बैंकको ढोकादेखि नै आफूहरुले नेपालीनै नभएको जस्तो व्यवहार भोग्दै आएको बताए ।
उनले वित्तीय क्षेत्र प्रविधिमैत्री भएको अवस्थामा दृष्टिविहीनहरुले प्रविधिको प्रयोगका लागि पनि अन्य सामान्य व्यक्ति सरह सुुविधा पाउनबाट बन्चित भएको गुनासो गरे । कतिपय साथीहरुले त्यो सुविधा पाएपनि धेरै पहल गर्नु परेको भनाइ उनको छ । नीतिगत अस्पष्टता, विभेदयुक्त नीति र कानून र नीतिको आ–आफ्नै व्याख्याका कारण वित्तीय सुविधा प्रयोगमा समस्या भइरहेको गुनासो शर्माको छ ।
अन्य साधारण व्यक्ति सरह वित्तीय क्षेत्रमा विकास गरिएका प्रविधिलाई सहजै प्रयोग गर्न सक्ने क्षमता आफूहरुमा पनि रहेको र कतिपयले प्रयोग गर्दै आएकाले यो सेवा लिन सहज वातावरण हुनुपर्ने माग उनको छ ।
बैंक तथा वित्तीय संस्थामा खाता खोल्नदेखि अन्य सेवा लिनका लागि अन्य व्यक्ति सरह सहज वातावरण नहुँदा समस्यामा परेको भन्दै सहज वातावारणको माग उनले गरेका हुन् ।
नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले अहिलेको नीतिगत व्यवस्थाले वित्तीय क्षेत्रमा भएका सबै सेवा सुविधामा नेपालीहरुको समान हक रहेको प्रष्ट पारे । अपांग भएकै आधारमा नीतिगत कारण देखाई सेवाबाट बन्चित गराउँनु कारवाहीकै विषय भएको उनको भनाइ छ । यसर्थ वित्तीय सेवा प्रवाह गर्ने कुनै पनि निकायले कमजोर सावित गरी नीतिगत अस्पष्टताको कारण देखाई सेवाबाट बन्चित नगराउन उनले आग्रह गरेका छन् ।
अपांगतामैत्री सेवामा पूर्णता नभएको कुरालाई स्वीकार्दै आगामी दिनमा आवश्यक नीतिगत व्यवस्थासहित अघि बढ्नुपर्ने विचार बैंकर संघका अध्यक्ष भुवन दाहालको छ । यसका लागि कार्यदलनै बनाएर समय तालिका सहित आवश्यक काम गर्नुपर्ने सुझाव उनको छ ।
अहिलेको प्रविधिको प्रयोगमा आफुहरुभन्दा पनि अपांगता भएका व्यक्तिहरु अझ अघि रहेको भन्दै यो सेवामा उनिहरुको पनि सहभागीता बढाउँनु पर्नेमा उनले जोड दिएका छन् ।
डेभलपमेण्ट बैंकर संघका अध्यक्ष पद्युमन पोखरेलले ग्राहकलाई सेवा दिने क्रममा धेरै कुराहरु सुधार गर्दै जानुपर्ने कुरा औंल्याएका छन् । यसमा पनि अपांगता भएका व्यक्तिहरुलाई सेवा दिने क्रममा नियामकको नीतिगत व्यवस्थासँगै आफ्नै आन्तरिक नीतिगत व्यवस्थालाई पनि कसरी सुधार गर्न सकिन्छ भन्नेमा ध्यानपूर्वक काम गर्ने प्रतिवद्धता उनले व्यक्त गरेका छन् ।
शेयर कारोबारमा मध्यस्थकर्ताको भूमिका खेल्दै आएका धितोपत्र दलाल व्यवसायीहरुले पनि अस्पष्ट नीतिका कारण अपाङ्गाता भएका व्यक्तिहरुलाई चाहेर पनि ढुक्कसँग सुुविधा प्रदान गर्न नसकेको गुनासो उनले गरेका छन् । त्यस्ता प्रकारका व्यक्तिहरुलाई अझ विशेष प्रकारको सेवा दिनुपर्ने हो तर सम्झौतामा कतिपय नीतिगत अस्पष्टका कारण सबैलाई ढुक्क भएर सेवा दिन नसकेको जानकारी उनले गराए ।
नीतिगत स्पष्टतासँगै प्रविधिका प्रयोगका लागि वेव एक्सिबिलिटी गाइडलाई र आर्थिक सुरक्षाका लागि बायोम्याट्रिक्स प्रणालीको विकास भए शेयर बजारमा पनि अपांगता भएका व्यक्तिहरुलाई सहजै सेवा प्रदान गर्न सकिने भनाइ मैनालीको छ ।
मर्चेण्ट बैंकर एशोसिएसनका अध्यक्ष मेख बहादुर थापाले पनि आफूहरुले दिने सेवाप्रवाहलाई अपांगतामैत्री बनाउँनेतर्फ आन्तरिक रुपमै छलफलमा जुट्ने र थप छलफलका लागि आगामी दिनमा छुट्टै कार्यक्रमको समेत आयोजना गर्न सकिने बताए ।
शेयर बजार सञ्चालक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले अपाङ्गता भएका व्यक्तिका लागि प्रविधिमा सहज बनाउन नीतिगत व्यवस्था अनुसारको प्रणाली विकासमा जोड दिएका छन् ।
अहिले पनि अपांगता भएका व्यक्तिहरुले प्रविधिको प्रयोगमै शेयर कारोबार गरिरहेको अवस्थामा समस्या र समाधानका विषयहरु प्रष्ट पारिदिए र त्यसपछि नीतिगत व्यवस्था भए प्रणाली विकासमा कुनै समस्या नहुने नेप्सेका प्रमुख कार्यकारी अधिकृत साउदको भनाइ छ ।
शेयर बजार अपांगता भएका व्यक्तिहरुका लागि उपयुक्त व्यवसायिक क्षेत्र भएको प्रतिक्रिया आइरहँदा नियामक निकाय नेपाल धितोपत्र बोर्डले पनि आगामी नीति तथा कार्यक्रममा आवश्यक व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गरेको छ । पूँजीबजारको कारोबारका लागि सूचना सबैभन्दा महत्वपूर्ण कुरा हो ।
यसर्थ अपांगता भएका व्यक्तिहरुले तस्विर, डाटाहरुमा भएका सूचनाहरुलाई कसरी पढ्न सक्छन् भन्नेमा पनि ध्यान दिनुपर्ने आवश्यकतालाई उनले औंल्याएका छन् । शेयर कारोबारको राफसापका लागि बैंकिङ क्षेत्र पनि जोडिने भएकाले सबै वित्तीय क्षेत्रमा आवश्यक सुधार गनुपर्ने ढुंगानाको भनाइ छ । आर्थिक अभियानबाट