महेश बस्नेत भन्छन्- ‘पद नपाउँदैमा विचलित हुन्न,म जे छु त्यही छु’
काठमाडौं,जेठ २७ । नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले मन्त्री नबनेपछि आफ्नो राजनैतिक जीवनमा पद प्राप्ति ठूलो विषय नबनेको बताएका छन् ।
मन्त्रिपरिषद् विस्तारलगत्तै फेसबुकमा स्टाटस लेख्दै उनले पद नपाउँदैमा विचलित हुने आफ्नो स्वभाव नरहेको उनले बताएका छन् ।पछिल्लो समय आएका समाचारमा कुनै सत्यता नभएको भन्दै भ्रममा नपर्न आग्रह गरेका छन ।
‘कतिपय मिडियाले मेरो नाम जोडेर म आक्रोसमा छु, गुट फेर्दैछु जस्ता समाचार लेखिरहेका छन् । त्यस्तो भ्रममा कोही नपरौ । म जहाँ छु त्यहीँ रहनेछु र म जे छु त्यही छु । पद नपाउँदा बिचलनमा आउने मेरो कुनै अबसरबादी चरित्र छैन र हुने पनि छैन ।’ उनले लेखेका छन ।
पार्टी नीति नेतृत्व र निर्देशन पालना गरेर अझै जोस, जाँगर र उर्जाका साथ अगाडि बढने उनी बताउँछन् ।
उनी केही दिनदेखि गृहमन्त्री बन्ने चर्चामा थिए ।गृहमन्त्रीमा प्रधानमन्त्री ओलीले पोखराका खगराज अधिकारीलाई छानेपछि सामाजिक सञ्जालमा बस्नेतले गुट फेर्न लागेको चर्चा चलिरहेको थियो ।
यस्तो छ उनको फेसबुक स्टाटस
मेरो राजनैतिक जीवनमा पद प्राप्ति ठूलो बिषय कहिले बनेन्। पार्टी नीति , नेतृव र निर्देशन सदैब पालना गरेर अगाडि बढेको छु। परिभाषित काममा सदैव आफ्नो दक्षता देखाएको छु।
पार्टी भित्र मात्र होइन बाहिरका मान्छेलाई समेत प्रभाव र दबाव पर्ने गरी काम गरेको छु। अफ्नो निर्वाचन क्षेत्र भक्तपुरमा आम जनताको र देशभरको एमाले कर्यकर्ता र युवा पंक्तिको मन जितेरै बसेको छु। पटक पटकको मन्त्री मण्डलको पुनर्गठनमा मेरो नाम ब्यापक चर्चा हुने गर्दछ।
मेरो सहयोद्धा कमरेडहरु बनाउने पक्षमा र बनाउनै हुँदैन भन्ने पक्षमा ब्यापक लाग्नु हुन्छ। हो । मेरो सफलतामा आफ्नो भलो र कोही आफ्नो राजकाज सकिन्छ भन ठान्छन् ।
मेरो विरोधी साथीहरुलाई झन धेरै धन्यवाद छ । जसको कारण म हरेक पलमा सचेत भएर कदम चाल्दछु। त्यो नै महिले सिकेको सिकाई हो र उपलब्धि पनि! कतिपय मिडियाले मेरो नाम जोडेर म आक्रोसमा छु। गुटफेर्दैछु जस्ता समाचार लेखिरहेका छन्।
त्यस्तो भ्रममा नपरौ म जहाँ छु त्यहीँ छु र म जे छु तेही छु। अझै जोस जाँगर र ऊर्जाका साथ लाग्नेछु। मेरो राजनैतिक जीवनमा विकास गर्न खोजेको नयाँ अभ्यास समय क्रममा थप पुष्टि हुनेछ ।