प्रधानमन्त्रीद्वारा थप आठ मन्त्री थप्ने तयारी
काठमाडौ,जेठ २७ । प्रधानमन्त्री केपी शर्मा ओलीले थप ८ जना मन्त्री थप्ने तयारी गरेका छन् । सर्वोच्च अदालतमा मन्त्रीपरिषद् विस्तार असंवैधानिक भन्दै मुद्धा बिचाराधीन रहेकै बेला प्रधानमन्त्रीले बिहीबार थप मन्त्रीहरु नियुक्ति गर्ने तयारी गरेका हुन ।
आज गृह, सञ्चार, कृषि, उद्योग, सामान्य प्रशासन मन्त्रालय प्रधानमन्त्री ओलीले मन्त्री नियुक्त गर्ने भएका छन् । उनले आफू निकट खगराज अधिकारीलाई गृहमन्त्री बनाउने भएका छन् । यस अघि महेश बस्नेतको नाम पनि गृहमन्त्रीका लागि चर्चामा आएको भए पनि अधिकारी बाजी मार्न सफल भएका हुन् । त्यस्तै पूर्व गृहमन्त्री बादलकी श्रीमति नैनकला थापा सञ्चार तथा सूचना प्रविधि मन्त्री, पूर्व माओवादीकै ज्वालाकुमारी साह कृषि मन्त्री, नियुक्त हुने भएकी छन् ।
यसै गरी नारदमुनी राना वनमन्त्री, मोहन बाँनिया विना विभागीय, राजकिशोर यादव उद्योग मन्त्री, गणेश पहाडी सामान्य प्रशासन मन्त्री र आशा बिक वन राज्यमन्त्री हुने भएका छन्। ती सबै मन्त्रीले आजै साँझ शपथ लिने भएका छन् ।
यस अघि जसपाको ठाकुर समुहबाट राजेन्द्र महतो सहित १० जना र एमालेबाट गरी १७ जना मन्त्री नियुक्त गरेका थिए । संसद विघटन र निर्वाचन घोषणा पछि स्वतः काम चलाउ बनेका प्रधानमन्त्रीले धमाधम मन्त्रीपरिषद् विस्तार गरेकोमा आलोचना भईरहेको छ ।