गोरखाका ५ स्थानीय तहमा ६ वटा एम्बुलेन्स सहयोग
गोरखा,जेठ २६ । सम्भव नेपाल नामक संस्थाले गोरखाका पाँच स्थानीय तहलाई ६ वटा एम्बुलेन्स र स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।
सो संस्थाले एम्बुलेन्ससहित करिब १ करोड बराबरको सामाग्री गोरखाका स्थानीय तहलाई सहयोग गरेको हो ।
जसमा गोरखा नगरपालिकालाई २ वटा एम्बुलेन्स, शहिद लखन, धार्चे, भिमसेन थापा र गण्डकी गाउँपालिकालाई १/१ वटा एम्बुलेन्स सहयोग गरिएको संस्थाका अध्यक्ष प्रेम खत्रीले बताए ।
त्यस्तै एम्बुलेन्समा आवस्यक अक्सिजन सहितको सिलिण्डर, रेगुलेटर, अक्सिजन मास्क, नौजल ६/६ थान, सर्जिकल मास्क ५० हजार थान, सनिटाइजर ८ सय लिटर, भिटिएम १ हजार २ सय थान, अक्सिमिटर १ सय थान, एन्टिजेन किट ६ सय थान, स्प्रेगन ३० थान, थर्मलगन ६ थान र स्टेचर ६ थान समेत सहयोग गरिएको उनको भनाई छ ।
संस्थाले प्रति एम्बलेन्स करिब १२ लाखका दरले ७२ लाख खर्च भएको र अन्य स्वास्थ्य सामग्री करिब ३० लाख बराबरको रहेको बताएको छ ।
सो सामाग्री बुधबार गोरखा नगरपालिकाको कार्यालयमा आयोजित एक कार्यक्रमका बिच नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं राष्ट्रिय सभाका प्रमुख प्रतिपक्ष दलका पूर्व नेता सुरेन्द्रराज पाण्डे र संस्थाका अध्यक्ष खत्रीले संयुक्त रुपमा स्थानीय तहहरुलाई हस्तान्तरण गरेका हुन ।