प्रहरी चौकी तोडफोडको आरोपमा ५ जना पक्राउ
सुनसरी,जेठ,२५ । प्रहरी चौकी तोडफोडमा संलग्न ५ जना पक्राउ परेका छन् ।
गएको जेठ १३ गते सुनसरीको धरान उपमहानगरपालिका- १५ नयाँ वसपार्कमा रहेको अस्थायी प्रहरी चौकी तोडफोडमा संलग्न १० मध्ये ५ जना मुख्य आरोपीहरुलाई पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको हो।
धरान ५ देउरालीमा लुकीछिपि वसिरहेका स्थानीय विक्रम राई( वर्ष-२४), धरान-३ वस्ने सिजन राई (बर्ष-२७) र धरान-४ वस्ने कालु भन्ने सरोज लिम्वु (वर्ष – २६) लाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका सुचना अधिकारी, प्रहरी नायब उपरीक्षक नरेन्द्र कार्कीले जानकारी दिए ।
त्यस्तै सोही घटनामा संलग्न धरान – ४ वस्ने वसन्त राई (वर्ष – ३०) र धरान-१५ वस्ने रेगन लिम्वु (वर्ष -३२) लाई पनि प्रहरीले पक्राउ गरेको छ। घटनापछी फरार रहेका उनिहरुलाई धनकुटाको छथर पोखरी – ४ वन्चरेबाट जिल्ला प्रहरी कार्यालय धनकुटाको टोलीले पक्राउ गरेको हो। सुचना अधिकारी कार्कीका अनुसार घटनामा संलग्न अन्य पांच जना फरार छन। उनिहरुको खोजी कार्य भईरहेको छ।
उनीहरु विरुद्द सुनसरी जिल्ला अदालतमा मुलुकी अपराध संहिता – २०७४ को परिच्छेद १२ ज्यान सम्वन्धी कसुर (विरुद्द ज्यान मार्ने उध्योग – १८३.१) अन्तर्गत मुद्दा दर्ता भएको छ। उनिहरु माथी आवास्यक थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ । गत जेठ १३ गते साँझ प्रहरी चौकीमा ज्यान जोगाउन पुगेका दुई जना युवकहरुलाई खोज्दै आएको हतियारधारी समुहले प्रहरी चौकीभित्रै आक्रमण गरेका थिए । त्यसक्रममा चौकी इञ्चार्ज सुमन दाहालसहित अन्य प्रहरी घाइते भएका थिए । उनीहरु भाग्नु अघि चौकीमा ढुंगामुढा गर्दै तोडफोडसमेत गरेका थिए । घटना पछि प्रहरीले संलग्नहरुको खोजी तीब्र बनाएको थियो ।