सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत



धनगढी,जेठ २५ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत पाएका छन्। नेकपा (माओवादी केन्द्र)का मुख्यमन्त्री भट्टँले मंगलबार प्रदेशसभामा विश्वासको मत मागेका थिए । उनको पक्षमा ३० मत खसेको र विपक्षमा ९ मत खसेको सभामुख अर्जुनबहादुर थापाले जानकारी दिए ।

प्रदेश सभा बैठकमा ५१ जना सांसद उपस्थित रहेका थिए। जसमध्ये ३० जना पक्षमा, ९ जनाले विपक्षमा मतदान गरे भने कांग्रेसका १२ जनाले मतदानमा भाग लिएनन्। मुख्यमन्त्री भट्टलाई नेकपा (एमाले)का माधवकुमार नेपाल पक्षका सांसदले मत दिएका छन्।

एमालेको नेपाल पक्षले मत दिएपछि कांग्रेस सांसदले तठस्थ बसेका छन्। कांग्रेस सांसदले मतदान गरेनन्। मंगलबार बिहान बसेको एमाले संसदीय दलको बैठकले मुख्यमन्त्री भट्टलाई विश्वासको मत दिने निर्णय गरेको थियो। तर, एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पक्षका सांसदले विरोध गरेका थिए।

त्यस्तै, कांग्रेस संसदीय दलको बैठकले आवश्यक परेमा मात्रै मुख्यमन्त्री भट्टलाई विश्वासको मत दिने निर्णय गरेको थियो। एमालेकै सांसदले विश्वासको मत पुगेपछि कांग्रेस सांसद तठस्थ बसेका हुन्।

प्रतिक्रिया दिनुहोस्