पुष्प व्यवसायमा दैनिक १ करोडको क्षति
२० प्रतिशतले रोजगारी गुमाए
काठमाडौं,जेठ २५ । पुष्प व्यवसायमा दैनिक १ करोड रुपैयाँको क्षति हुन थालेपछि यस व्यवसायमा आबद्ध करीब २० प्रतिशत कामदारले रोजगारी गुमाएका छन् ।
कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि हाल जारी गरिएको निषेधाज्ञाका कारण समग्र पुष्प व्यवसाय ठप्प हुँदा यस क्षेत्रमा दैनिक १ करोड रुपैयाँको क्षति हुन थालेको हो । व्यवसाय नै ठप्प भएर कामदारलाई तलब दिन नसक्ने अवस्था सृजना भएपछि रोजगारी गुम्ने क्रम बढेको हो ।
निषेधाज्ञाका कारण होटेल, रेस्टुराँ, पार्टी प्यालेस, मन्दिर बन्द छन् भने भोजभतेरलगायत कार्यक्रमसमेत बन्द रहेका छन् । यसले गर्दा फूलको कारोबार पनि ठप्प भएको छ । वैशाख र जेठमा विवाह व्रतबन्धजस्ता कार्यक्रम बढी हुने भएकाले फूलको कारोबार पनि बढी हुने गर्थ्याे । तर, अहिले व्यवसायीका फार्म र नर्सरीमा फुलेका फूलले बजार पाएका छैनन् ।
फ्लोरी कल्चर एशोसिएशन नेपालका अध्यक्ष कुमार कसजु श्रेष्ठका अनुसार नेपालको पुष्प व्यवसायमा वार्षिक २ अर्ब ६० करोड रुपैयाँभन्दा धेरैको कारोबार हुने गर्छ । यही आधारमा हिसाब गर्ने हो भने हाल देशभरिको पुष्प व्यवसायमा दैनिक करीब १ करोड रुपैयाँ बराबरको क्षति भइरहेको उनको अनुमान छ । । ‘यो अनुमानित हो, वास्तविक क्षति अझै बढी हुन सक्छ । एशोसिएशनले चाँडै पूर्ण क्षतिको विवरण सकंलन गर्ने तयारी थालेको छ,’ उनले भने ।
फ्लोरी कल्चर एशोसिएशनको तथ्याङ्कअनुसार यस व्यवसायमा देशभरिमा ६ अर्बको लगानी रहेको छ । यो हाल ४३ जिल्लामा फैलिएको छ । यसबाट ७ सयभन्दा बढी व्यवसायीका साथै प्रत्यक्ष र अप्रत्यक्ष रूपमा गरी ४० हजार मान्छेले रोजगारी पाएका छन् ।
नर्सरीहरूसँग सिजन अनुसारका मौसमी फूल र फार्महरूसँग एकवर्षे र बहुवर्षे फूलहरूको उत्पादन हुन्छ । तर, निषेधाज्ञाका कारण यी सबै फूल नष्ट भएको एशोसिएशनको भनाइ छ ।
फूल उत्पादक किसान विनोद श्रेष्ठ निषेधाज्ञाकै कारण काभ्रेस्थित आफ्नो फार्ममा जान सकेका छैनन् । ‘फार्ममा रहेका कामदारमध्ये कतिपयले काम छाडेर गइसकेका छन् । अब फुलेका फुलको त हामीलाई आशा छैन । माउ बिरुवासमेत जोगाउन गाह्रो भइरहेको छ,’ उनले भने । उत्पादन भएका सबै फूल खाल्डोमा गाडेर नष्ट गर्ने तथा कम्पोस्ट मल बनाउन थालिएको उनले बताए । आर्थिक अभियानबाट